कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
620

लकडाउन खुकुलो भएपनि सुनचाँदी पसल सुनसान देखिएको छ । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण ग्राहक आउन नपाउँदा बजार सुनसान देखिएको हो । साथै, सरकारले बजेटमार्फत कर वृद्धि गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुस्ताएको छ । खासगरी काठमाडौंको न्युरोडस्थित कतिपय सुन पसलमा उपभोक्ताको चहलपहल समेत नहुदाँ व्यवसायीहरु फुर्सदिला बनेका छन् ।
उनीहरुले असार महिनामा विवाहको लगन भएपनि उपभोक्ताहरुले आवश्यक बाहेक खरिद नगरेको बताएका छन् । अघिल्लो वर्ष सोहि महिनामा दैनिक ६० लाखसम्म व्यापर हुने गरेका भएपनि कोरोनाको कारण दैनिक एक दुई लाखको मात्रै कारोबार भएको उनीहरुको गुनासो छ ।
पछिल्लो समय सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतिोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।