कारोबार संवाददाता
मंगलबार, जेठ २०, २०७७
485

लकडाउनको समयमा कृषि उपज निर्वाध रुपमो ढुवानी तथा विक्री वितरण गर्ने वातावरण बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आह्वान गरेको छ । कोरोनाको कारण देखाउँदै स्वदेशमै उत्पादित तरकारी ढुवानी तथा विक्री अवरोध भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै सोमबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । तरकारी, दूध, मासुलगायत सम्पूर्ण कृषि उत्पादन तथा बजारीकरणका कार्यलाई अत्यावश्यक सेवाको रुपमा लिइन्छ । मुलुकभर कृषि कर्म गर्न र ढुवानी समेतमा रोक नलगाउन मन्त्रिपरिषद् तथा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले लकडाउन सुरु भएलगत्तै निर्णय गरिसकेको छ ।
मन्त्रालयले आइतबार अर्घाखाँचीमा अन्य जिल्लाबाट आएको तरकारी भित्रन नदिने भन्दै प्रहरीकै रोहबरमा नष्ट गरिएको घटनाप्रति इंकित गर्दै यस्ता घटना रोक्न आह्वान गरेको हो । विज्ञप्तिमा अर्घाखाँचीको नाम नलिइए पनि मन्त्रालयले ‘केही स्थानहरूमा अन्यत्र जिल्लामा उत्पादित वस्तुहरूको ढुवानी र बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको’प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
“यस्ता कार्यहरूले कृषकहरूको उपज खेर जाने मात्र नभै कृषकहरूको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नु पर्ने अवस्था सिर्जना गराउँछ,” सचिव राजेन्द्रप्रसाद भारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यहरू कहिँकतैबाट हुन नदिन र कृषकका उत्पादनहरू सहज रुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउनु हुन सम्बद्ध सबैलाई पुनः अनुरोध छ ।”