गोविन्द खत्री
शुक्रवार, जेठ १६, २०७७
515

सुर्खेत-संघीय संसदमा बिहीबार प्रस्तुत बजेटमाा कर्णाली प्रदेशलाई उचित सम्बोधन नभएको यहाँका सरोकारवालाहरूले बताएका छन् ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेश अन्यभन्दा पछाडि परेको भन्दै यसलाई छिटो विकास गर्नका लागि संघीय सरकारले बजेटमा उचित सम्बोधन गर्न नसकेको बताए । बजेट भाषणबारे कारोबार संवाददातासँग प्रतिक्रिया दिँदै उपाध्यक्ष रेग्मीले कर्णालीमा आधा जनसंख्या बहुआयामिक गरिबीमा रहेको भन्दै संघीय सरकारले त्यसबाट माथि उठाउनेगरी बजेट ल्याउन नसकेको बताए । ‘केही ठूला आयोजनाहरूबाट त सम्बोधन भएकै छ,’ उपाध्यक्ष रेग्मीले भने, ‘तर अहिलेको कोरोना परिस्थितिमा ती आयोजना कार्यान्वयन अघि नबढ्न पनि सक्छ त्यसैले गरिबी घटाउने खालको कार्यक्रम कर्णालीलाई चाहिएको छ ।’

बजेट भाषणमा कर्णाली प्रदेशका सडक, जलविद्युत, खेलकुदलगायतका योजनालाई प्राथमिकता दिइएको छ । सडकतर्फ कर्णाली राजमार्गको सुर्खेत जुम्ला, सुर्खेत दैलेख, नाग्मा गमगढी नाग्चेलाग्ना सडक स्तरोन्नती गरिने उल्लेख छ । गमगढी रारा सडक निर्माण अगाडी बढाउन भनिएको छ । यस्तै सबै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोड्ने कार्यक्रम अनुसार कर्णाली करिडोरको निर्माणलाई तीव्रता दिई हुम्ला सदरमुकाममा एक वर्षभित्रमा सडक पु-याउने बजेट भाषणमा उल्लेख छ । प्रदेश राजधानी जोड्ने सडकलाई संभाव्यताका आधारमा चौडा बनाउने कार्यक्रमअन्तर्गत कोहोलपुर सुर्खेत सडकको स्तरोन्तनी गर्ने जनाइएको छ । भेरी,कर्णाली राप्ती करिडोरको निर्माणलाई निरन्तरता दिने पनि समावेश गरिएको छ । विद्युत तर्फ नेपालको पानी जनताको लगानीअन्तर्गत फुकोट कर्णाली र जगदुल्लाको निर्माण प्रक्रिया अघि बढाइने र नलगाढको लगानी ढाँचा एकिन गरी कार्यान्वयनमा ल्याइने भनिएको छ ।प्रादेशिक विमानस्थलका रुपमा विकास गर्न सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
यस्तै ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालका लागि कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी पूर्वाधार विकास गर्न र उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कवर्डहल निर्माण गर्न बजेट व्यवस्था गरिएको बजेट भोषणमा बताइएको छ ।