कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
431

लमजुङ-कोरोना भाइरसको संक्रमण जोखिमसँगै जारी लकडाउनका बेला पनि लमजुङमा सवारी साधनविरुद्ध कारवाहीबाट एकलाख बढी राजस्व संकलन भएको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनका बेला जिल्लामा गरिएको सवारी कारवाहीबाट मात्रै एक लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
लकडाउन जारी भएको मितिदेखि दुई महिनाको अवधीमा झण्डै दुईसय सवारी कारवाहीमा परेका छन् । लकडाउनका बेला अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक लगाइएका बेला जिल्लामा एकसय ८७ सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी सहायक निरीक्षक महेन्द्र रानाभाटले बताए ।
लकडाउनका बेला अत्यावश्यक सवारी साधनमात्रै चलेपनि ट्राफिक नियम विपरित चलेको पाइएपछि त्यस्ता सवारीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक रानाभाटको भनाई छ । यद्यपी साविक समयको तुलनामा अत्याधिक कम सवारी गुडेको र राजस्व संकलनमा पनि कमी आएको रानाभाटले बताए ।
ट्राफिक प्रहरीका अनुसार ०७६ चैत ११ गतेदेखि हालसम्म ट्राफिक नियम उल्लघंन गरी कारवाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै कार जिप रहेका छन् । दुई महिनाको अवधीमा एकसय सात जिप मात्रै कारवाही परेका छन् । कार जिप लगायतका चारपांग्रे सवारीबाट मात्रै ७२ हजार पाँचसय रुपैया राजस्व संकलन भएको छ ।
यस्तैगरी लकडाउनका बेला नियम विपरित चलेका ४० मोटरसाइकल कारवाही परेका छन् । मोटरसाइकलबाट मात्रै २९ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार दुई महिनाको अवधीमा जिल्लामा १७ ट्याक्टर र २३ ट्रक, ट्रिपर कारवाहीमा परेका छन् । ट्याक्टरबाट १० हजार र ट्रक, ट्रिपरबाट १२ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले बताएको छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई महिनाको अवधीमा ठूला खालका सवारी दुर्घटना भने शून्य रहेको छ । साविकको तुलनामा कम सवारी साधन गुडेको र जिल्लाका अधिकांश स्थानमा चेकजाँचमा कडाई हुँदा सवारी दुर्घटना कमी भएको प्रहरीको दावी छ ।
कोरोना भाइरसको संक्रमण जोखिमसँगै जिल्लामा अत्यावश्यक बाहेकका अन्य सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाइएको छ । विगत दुई महिनादेखि सार्वजनिक यातायात ठप्प भएको छ भने अत्यावश्यक कामका लागि प्रशासनबाट अनुमति लिएर केही निजी सवारीहरु सञ्चालनमा आएका छन् ।
लकडाउनका बेला ट्राफिक प्रहरीसँगै जनपथ प्रहरी र सशस्त्र प्रहरीले समेत सडक चेकजाँचमा कडाई गरेका छन् । विशेष गरी प्रहरीले सवारी सवारी पास, कामको प्रायोजन लगायतका विषयमा कडाइका साथ चेकजाँच गर्दै आएका छन् ।

 

सन्देश पौडेल