कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
591

सरकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक ब्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बिहीबार (आज) अपरान्ह चार बजेबाट संसद्को दुवै सदनमार्फत सार्वजनिक हुने बजेटले कोरोनाबाट थिलथिलो परेको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताइएको छ । विवादास्पद स्थानीय क्षेत्र पूर्वाधार कार्यक्रमले नाम फेरेर निरन्तरता पाउने छ भने आगामी वर्षदेखि कर्मचारीले प्रोत्साहन भत्ता नपाउने र तलब र वृद्धभत्ता यथावत राखिने भएको छ । यस्तै, स्वास्थ्य पूर्वाधार र ठूला परियोजनाको क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन हुने जनाइएको छ ।

चालू आवको बजेट (१५ खर्ब ३२ अर्बको) मा सामान्य वृद्धि गर्दै ल्याउन लागिएको बजेटको अंक तयार गरी अर्थ मन्त्रालयले मंगलबार नै रातो किताब छाप्न मुद्रण विभाग पठाइसकेको छ । रातो किताबमा विशेष कार्यक्रम भने समावेश भएका छैनन् । बजेट भाषण पुस्तिका र आर्थिक तथा विनियोजन ऐन बाहेकका सबै काम सकेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटबारे जानकारी दिँदै सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो ४ बजेटलाई समय निर्धारण गरिएको बताए । संघीयता कार्यान्वयनमा आएपछिको चौथो बजेट दुई तिहाई नजिकको बामपन्थी सरकारको तेस्रो बजेट हो । अर्थमन्त्री भएलगत्तै श्वेतपत्र निकालेर अर्थतन्त्रको कहालीलाग्दो अवस्थाको चित्रण गरेका डा.युवराज खतिवडाले बिहीबार सार्वजनिक गर्ने बजेट तेस्रो बजेट हो भने दोस्रा पटक अर्थमन्त्री भएपछिको पहिलो बजेट हो ।
खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याएका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको थियो । खतिवडाले ल्याएका र केपी ओली नेतृत्वले कार्यान्वयन गरेका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चका हिसाबले अहिलेसम्मकै कमजोर सावित भएका छन् ।