लक्ष्मी सापकोटा
सोमवार, जेठ १२, २०७७
430

नेपाल आयल निगमले थानकोटमा अत्याधुनिकस्तरको तालिम केन्द्र बनाउन लागेको छ । निगममा कार्यरत कर्मचारीलाई तालिम दिनका लागि सो केन्द्र स्थापनका गर्न लागेको निगमले जनाएको छ । निगमको थानकोट डिपो नजिकै रहेको चार रोपनी जग्गामा सो तालिम केन्द्र बनाइन लागेको हो । थानकोट डिपो प्रमुख प्रदिप यादवले निगममा कार्यरत कर्मचारीलाई तालिम दिन लागि पहिलो पटक तालिम केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
३५ देखि ४० करोड लागतमा सुविधासम्पन्न तालिम केन्द्र निर्माणको काम यसै आर्थिक वर्षमा काम सुरु गरिने उनले जानकारी दिए । निगमका कर्मचारीलाई आवश्यक पर्ने सबै प्रकारका तालिम यस केन्द्रबाट उपलव्ध गराइने उनले जानकारी दिए । प्राविधिक, प्रशासनिक लगायतका अन्य तालिम उपलव्ध गराइने छ । यसअघि कर्मचारीलाई तालिम लिनका लागि भारत जानु पथ्र्यो । निगमका उच्च अधिकृतले कर्मचारीलाई तालिम दिने छन् भने उच्चस्तरका कर्मचारीलाई आइओसीका प्रतिनिधि आएर तालिम दिने छन् ।

तेलमा कुन कुन पदार्थ कति मिसिएको छ भनेर गुणस्तरको परीक्षण गरिने छ । इन्डियन आयल कर्पाेरेशन (आइओसीले) पठाएको गुणस्तर अनुसारको इन्धन छ छैन भनेर समेत परीक्षण गरिने छ । एक वर्ष भित्रमा तालिक केन्द्रको निर्माण सक्ने निगमको लक्ष्य छ ।
यसैबीच, थानकोटमा तेल बोकेका ट्यांकरलाई पार्किङ गर्न नयाँ पार्किङ निर्माण कार्य सुरु भएको छ । डिपोको पूर्वी भागमा खाली रहेको ३९ रोपनी जग्गामा पार्किङ निर्माणको काम सुरु भएको हो ।
पार्किङ निर्माणका लागि टेन्डर भइसकेको डिपो प्रमुख यादवले जानकारी दिए । आगामी असारसम्ममा नयाँ पार्किङ तयार भइसक्ने उनको भनाई छ । नयाँ पार्किङ बनेपछि तेल बोकेर आएका र पालो कुरेर बसेका ट्यांकरलाई बाटोको छेउमा राख्नुपर्ने स्थितिको अन्त्य हुनेछ । पर्याप्त पार्किङको अभावमा अहिले थानकोट डिपोको अगाडि बाटोको छेउमा ट्यांकर राख्नुपर्ने अवस्था रहेको छ ।
सकडमा ट्यांकर राख्दा स्थानीय बासिन्दाले बारम्बार गुनासो गर्दै आएका छन् । डिपो अगाडिको चार रोपनी जग्गा साँघुरो भएकाले पार्किङमा समस्या हुँदै आएको छ । अहिले पार्किङ बन्दै गरेको जग्गा १० वर्षअघि खरिद गरिएको थियो । यो अवधिसम्म पार्किङको समस्या भाग्दै आए पनि कसैले सो जग्गा उपयोग गर्न ध्यान दिएका थिएनन् ।
त्यसैगरी डिपो परिसरको लोड–अनलोड गर्ने ठाउँमा समेत ढलानका लागि काम अघि बढेको छ । लोडिङ सेडमा ढलान नहुँदा वर्षामा हिलो हुने, हिउँदमा धुलो उड्ने समस्या हुँदै आएको छ ।
यसैबीच लकडाउनको बेला कोरोना भाइरस नियन्त्रणका लागि थानकोट डिपोले ट्यांकर प्रवेश गर्ने ठाउँमा ‘डिसइन्फेटिङ टनेल’ निर्माण गरेको छ । त्यहाँ ५ सेकेन्ड ट्यांकर रोकेर निर्मलीकरण स्प्रे छर्ने र डिपोमा प्रवेश दिइने गरेको यादवले बताए । त्यसैगरि डिपोमा प्रवेश गर्ने व्यक्तिका लागि पनि डिसइन्फेक्टिङ गेट बनाइएको छ । त्यहाँबाट प्रवेश गर्दा निर्मलीकरण गर्ने स्पे हालेर मात्र मानिसहरू डिपो प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।