कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७
491

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ । कृषिको उत्पादन र उत्पादकत्व बढाएर कृषकको आयस्तर र जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले कृषि ऋणको ब्याजमा अनुदान दिने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि गाउँ कार्यपालिकाको गत वैशाख २४ गते बसेको बैठकले कृषि ऋणको ब्याजमा पचास प्रतिशत अनुदान कार्यविधि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । “पालिकामा व्यावसायीक रुपमा कृषि पेशामा संलग्न कृषक वा फर्मलाई अनुदानमा समेटिने छ” उनले भने, “खाद्यन्न बाली, तरकारी बाली, मसला बाली, फलफूल बाली, दुग्ध व्यवसाय, मौरीपालन, कुखुरा पालन, बाख्रा-भेडा पालन र कार्यपालिकाले निर्णय अन्य व्यवसायमा ब्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ ।” यसका लागि गाउँपालिकाले पालिकामा रहेको बैंकसँग कृषकलाई ऋण उपलब्ध गराउन सम्झौता गर्नेछ । बैंकले कृषकलाई उपलब्ध गराएको ऋणको व्याजको ५० प्रतिशत पालिकाले तिरीदिने भएको हो ।
पालिकाको कृषि शाखाले सार्वजनिक सूचना जारी गरेर ऋणमा व्याज अनुदान चाहने किसानसँग आवेदन माग्ने छ । व्याजमा पाउने अनुदानका लागि कृषक लाभग्राही छनौट गर्न आर्थिक विकास समितिका संयोजकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । कार्यविधिको मापदण्डमा रहेर प्रक्रिया पूरा गरेका किसानले ऋणमा अनुदान पाउनेछन् । यस कार्यक्रमबाट पालिकाको सबै वडाका किसानलाई समेट्ने लक्ष्य छ ।
गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम मार्फत व्याजमा अनुदान दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममा हाल एक करोड रुपैयाँ बजेट छ । सो कार्यक्रममा वर्षेनी बजेट विनियोजन गर्ने पालिकाले जनाएको छ । किसानले अनुदान लिएपछि गरेका कामको अनुगमनका लागि वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाइने कार्यविधिमा उल्लेख छ ।