कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७
643

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अर्थ व्यवस्था धराशयी हुने टड्कारो सम्भावनाबीच अर्थतन्त्रको ढाँचा पुनःसंरचना बजेटको मूल हाँक हुने बताएका छन् ।
“कोरोना भाइरसले ल्याएको संकटका कारण अर्थ व्यवस्थाको वर्तमान संरचना धराशयी हुने टड्कारो सम्भावना छ । घट्दो राजस्वबाट विकास खर्च त के, साधारण खर्च पनि धान्न मुस्किल पर्न सक्छ,” अध्यक्ष राणाले सोमबार भने, “यी जोखिमको सामना गरी नेपाली अर्थतन्त्रको ढाँचा कसरी पुनःसंरचना गर्ने भन्ने नै यो वर्षको बजेटको मूल हाँक हुनेछ ।”

राणाले घट्दो राजस्वबाट साधारण र विकास खर्च धान्न कठिन हुने बताए । उनले विप्रेषण र पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट आउने पनि बताए । आयातको लागत बेहोर्ने स्रोत सुकेर सोधनान्तर स्थितिमा घाटाको ठूलो जोखिम आइलाग्ने अवस्था छ । यही कारणले आयात घटे राजस्वमा पनि गिरावट आउने उनले दावी गरे ।
नेपाली अर्थतन्त्र अर्थात राजस्वको मूल तीन आधार, विप्रेषण, पर्यटन र वैदेशिक ऋण सहयोग, सीमित रहने दृष्टान्त प्रस्तुत गर्दै राप्रपा अध्यक्ष राणाले सरकारले गम्भीर भएर निकास दिनु पर्नेमा जोड दिए ।
“विप्रेषण र पर्यटन क्षेत्रको आम्दानी र वैदेशिक ऋण, सहयोगबाट आयात धान्ने संरचना हो नेपालको । यी तीन स्रोतको आम्दानीमा आधारित आयातबाट उठ्ने भन्सार महसुल र भ्याट नै राजस्वको मूल स्रोत हो ।” उनले भने ।
घट्दो राजस्वका कारण साधारण खर्च र विकास खर्च धान्न कठिन हुने अवस्था इंगित गर्दै उनले सरकारले के निकास दिन्छ भन्ने हेर्न बाँकी रहेको बताए ।