लक्ष्मी सापकोटा
मंगलबार, चैत्र २५, २०७६
1570

  मार्चमा मात्र ४५ हजार टन आयात

केही दिन अघिसम्म ग्यासको अभाव खेपेका उपभोक्ताले अहिले सहजै पाउन थालेका छन् । भारतबाट मागभन्दा बढी ग्यास आपूर्ति हुनु र बजारमा आधा सिलिण्डर ग्यासमात्र पठाउनुजस्ता कारणले अभाव पूर्ण रूपमा अन्त्य भएको हो । अहिले सिलिण्डर खाली नहुँदा ग्यास बुलेटमै रोकिएको अवस्था रहेको कतिपय उद्योगीहरूले बताएका छन् ।
सामान्य अवस्थामा ३९ हजार टन ग्यासको आयात हुने गरेकोमा मार्च महिनामा ४५ हजार टन आयात भएको निगमले जानकारी दिए । निगमका प्रवक्ता विनितमणि उपाध्यायले मार्च महिनामा ४५ हजार ३८१ टन ग्यास भित्रिएको जानकारी दिए । ग्यासको आयात मागभन्दा बढी भएकाले बजारमा अभाव नभई फालाफालको अवस्था रहेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमणले बजारमा ग्यासको अभाव हुनसक्ने भन्दै निगमले पर्याप्तमात्रामा आयात गरेको थियो । केही समयअघि ग्यासको अभाव भए पनि अहिले भने बजारमा पर्याप्त उपलब्ध भएको छ । लकडाउनयता दैनिक एक सय बुलेट ग्यास लोडिङ गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

मागभन्दा बढी आएपछि काठमाडौं उपत्यकामा ग्यास बिक्री हुनै छाडेको छ । कोरोना संक्रमणसँगै उपभोक्ताले आत्तिएर चाहिनेभन्दा बढी भण्डारण गर्दा अहिले ग्यास बिक्री हुन छाडेको हो । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पछिल्लो केही दिनदेखि ग्यास बिक्री नै हुन छाडेको बताए । उद्योगको भण्डारण पनि भरिन थालिसकेकाले केही भरिएका बुलेट थन्क्याउने परिस्थिति आएको उनले जानकारी दिए ।
नाकाबन्दीजस्तै सोचेर उपभोक्ताले बढी स्टक राख्दा केही समय बजारमा अभाव देखिएको भएको तर अहिले नियमति आयात भइरहेकाले उद्योगीमै ग्यास भन्डारण गरिएको व्यवसायीको भनाई छ । बजारमा ग्यासको अभाव पूर्णरूपमा हटेको निगमले जानकारी दिएको छ ।
निगमको टेकुमा रहेको बिक्री कक्षमा ६ दिनमा ६ सय ३२ सिलिण्डर मात्रै बिक्री भएको छ । त्यहाँ २२ वटा उद्योगको ग्यास बिक्रीका लागि राखिएको छ । निगमले अभाव हटाउन दुई साताअघि आधा सिलिण्डर ग्यास बिक्रीको निर्णय गरेको थियो । यो निर्णयपछि ग्यास अभाव विस्तारै हट्दै गएको छ । भारतबाट पनि १५ दिनको अवधिमा १५ हजार टन ग्यास दिने प्रतिबद्धता जनाएको छ । ग्यास धेरै खपत गर्ने क्षेत्र होटल र रेष्टुरेन्ट हुन् । लकडाउनले होटेर रेष्टुरेन्ट बन्द हुँदा ग्यासको खपत घटेकाले बजारमा अभाव हटेको व्यवसायीको भनाइ छ ।
कोरोना संक्रमणपछि बजारमा ग्यासको माग ह्वात्तै बढेको थियो । उपभोक्ताले अभाव हुन सक्ने आसंकामा आवश्यकता भन्दा धेरै भन्डारण राख्न थालेपछि ग्यास आयात धेरै हुँदा पनि आपूर्ति सहज हुन सकेको थिएन । बजारमा ग्यासको अभाव हटाउनका लागि निगमले आधा सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
निगमले आधा सिलिण्डर भर्ने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको उद्योगीको भनाइ छ । अन्य पेट्रोलियम पदार्थको भन्डारण क्षमता निगमसँग रहेपनि ग्यास भन्डारण क्षमता छैन । जसका कारणले उद्योगमै ५० प्रतिशत स्टक राख्न निगमले निर्देशन दिएको थियो । उद्योगीसँग अहिले उद्योगमा समेत ग्यासको भन्डारण
पूर्णरूपमा रहेकाले बुलेटमा ग्यास राखिएको व्यसायीको भनाई छ । निगमले घुम्तिसेवामार्फत घरघरमा ग्यास पु¥याएको थियो । ग्यास नपाएको गुनासो आएपछि अस्पताल, अनाथलय, बालश्रम लगायतका अन्य स्थानमा निगम आफैले घुम्ति सेवामार्फत ग्यास पु¥याएको थियो ।

खाद्यान्न आयात सशर्त खुला
सरकारले कोरोनाप्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्ध सशर्त फुकुवा गरेको छ । क्वारेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्नसक्ने निर्णय गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भनेको छ, “आयातीत खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउन पाइने गरी यसअघिको प्रतिबन्ध हटाइएको छ ।” यसअघि स्थगन गरिएको खाद्य वस्तु आयात अनुमति पत्र जारी पनि उक्त निर्णयसँगै खुला भएको भन्दै विभागले सशर्त नयाँ व्यवस्थाअनुसार अब व्यवसायीले विदेशी मुलुकबाट आयात हुने सबै प्रकारका खाद्य वस्तु अनिवार्य १४ दिन क्वरेन्टाइनमा राख्नुपर्ने छ ।