केशव समर्पण
बुधवार, फाल्गुन १४, २०७६
607

दुई दिनमै चार दर्जनभन्दा बढी ट्रक नियन्त्रणमा
हेटौंडा-नेपाल भारतबीचको पारबहन सम्झौताको उल्लंघन गर्दै नेपालमा दैनिक सयौं भारतीय मालबाहक ट्रक नेपाल भित्रने गरेका छन् । भन्सार कार्यालयले कडाई नगर्दा भारतीय मालबाहक ट्रक सामान बोकेर नेपालका विभिन्न स्थानमा पुग्ने गरेका छन् । नेपालको कानुनविपरीत बढी भार बोकी नेपाल भित्रने भारतीय ट्रकलाई मकवानपुर ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

सोमबारदेखि थालिएको कारबाही अभियानअन्तर्गत मंगलबार अबेरसम्म करिब ४ दर्जनभन्दा बढी भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ । भैरहवा नाकाबाट नेपाल भित्रिएका भारतीय ट्रक वीरगन्ज तथा जनकपुरका लागि कोइला बोकेर जाने क्रममा ट्राफिकले हेटौंडामा नियन्त्रणमा लिई यातायात व्यवस्था सेवा कार्यालयमा बुझाएको हो । नेपाल भारत पारवहन सम्झौताअनुसार टुक्र्याउन नमिल्ने र ओराल्दा बिग्रने मेसिनरी औजारबाहेक नेपालको भन्सार नाकाबाट १५ किलोमिटर भित्रसम्म पर्ने औद्योगिक कोरिडोरसम्म मात्रै मालबाहक सवारी आउन पाउने व्यवस्था छ । त्यस सीमालाई नाघेर आउने भारतीय ट्रकलाई कारबाही हुने व्यवस्था छ ।
सबै भारतीय ट्रकले कानुनविपरीत अतिरिक्त ५ देखि १० टनसम्म बढी भार बोकेको र पारबहन सम्झौताविपरीत प्रवेश गरेको पाइएपछि कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । यसअघि विराटनगर वीरगन्ज नाकाबाटसमेत भारतीय ट्रकहरू नेपाल प्रवेश गर्ने गरेकोमा हाल उक्त नाकामा कडाई गरिएपछि भारतीय ट्रकले भैरहवा नाकाको प्रयोग गरेका हुन् ।
नियन्त्रणमा लिएका सवारीहरूले बढी भार बोकेबापत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवामा १ हजार रुपैयाँ मात्रै जरिवाना तिरेर छुटेको रसिद फेला परेको छ । मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार बढी नेपालमा गुड्ने मालबाहक सवारीले क्षमताअनुसार बढीमा २४ टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था छ । निर्देशिकाअनुसार तोकिएभन्दा बढी भार बोक्ने सवारीलाई जरिवानाका साथै बढी भएको सामान झारेर मात्र पठाउनुपर्नेछ । उक्त कानुनविपरीत भैरहवा ट्राफिक प्रहरीले सामान्य जरिवाना मात्रै तिरेर छाडेको पाइएको छ । भैरहवादेखि हेटौंडासम्म करिब २ सय किलोमिटर आउँदा समेत बाटोमा रहेका दर्जनौं प्रहरी पोष्टहरूले कानुनविपरीत भित्रिएका ट्रकलाई निर्बाध चल्न दिएका छन् ।
नेपाली ट्रक व्यवसायीलाई मात्र कानुनमा कडाई गर्ने तथा भारतीय ट्रकलाई निर्वाध छाड्ने गरिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरिरहेका छन् । यातायात व्यवसायीको दबाबपछि ट्राफिक प्रहरीले कानुनविपरीत भित्रिएका मालबाहक ट्रकलाई नियन्त्रणमा लिई कारबाही थालेको हो । “बढी भार बोकेर नेपाल छिरेका भारतीय ट्रकहरूका कारण नेपाली व्यवसायी मारमा परेका छन् । उनीहरूलाई बढी भार बोक्न छुट दिँदा हामी कानुनको पालना गर्नेहरू मर्कामा पर्छौं ।” नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले भने,“बढी भार बोक्दा भारतीय ट्रकको भाडा सस्तो पर्न जान्छ अनि हामी नेपाली व्यवसायीले काम नै नपाउने अवस्था आएको छ ।” कानुनविपरीत भित्रने भारतीय ट्रकलाई नाकामै रोक्नुपर्ने श्रेष्ठको भनाइ छ ।
भन्सार नाकाबाट नै भारतीय ट्रकलाई भार मिलान गरेर प्रवेश गर्न दिनुपर्ने यातायात व्यवसायीहरूले माग राख्दै आए पनि त्यसको सुनुवाई हुन सकेको छैन । धेरैको विरोधपछि विराटनगर र विरगञ्ज नाकामा कडाई गरिए पनि अन्य नाकाबाट भने भारतीय ट्रकहरू भित्रिरहेका छन् । कानुनविपरीत बढी भार बोकेर नेपाल छिर्ने भारतीय ट्रकका कारण सडक जीर्ण हुनुका साथै दूर्घटनासमेत बढ्ने नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईंको भनाइ छ ।