कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
2355

बजारमा मंगलबार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।
यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएर त्यसअघिका सम्पूर्ण रेकर्ड तोडेको थियो । मंगलबार सुनले यसअघिका सबै रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेका कारण यसको असर नेपाली बजारमा पनि परेको हो । खासगरी अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ । त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको छ । महासंघका अनुसार मंगलबार बजारमा चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।