कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
428

ओखलढुंगा-जिल्ला समन्वय समिति ओखलढुंगाले गरेको छुट्टाछुट्टै तीनवटा योजनाको अनुगमनमा ५३ लाखभन्दा बढी अनियमितता भेटिएको छ । समितिले एक विज्ञप्ति सार्वजनिक गर्दै अनियमितताको खुलासा गरेको हो ।
चालू आर्थिक वर्षमा समितिले मोलुङ एकवार हर्कपुर पात्ले सडक आयोजना, निशंखे खेलमैदान निर्माण योजना र ढुस्के पोक्तिङखोला वरुणेश्वर सडक निर्माण योजनामा अनुगमन गरेको थियो । जसमध्ये ढुस्के पोक्तिङखोला वरुणेश्वर सडक निर्माण योजनामा सबैभन्दा बढी अनियमितता भेटिएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित उक्त योजनामा प्राविधिक मूल्यांकन प्रतिवेदन अनुसार अनुगमन गर्दा ३४ लाख १ हजार ७५३ रुपैयाँ बढी भुक्तानी गरेको भेटिएको जिल्ला समन्वय समित ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठले बताए ।
अनुगमनका क्रममा निशंखे खेल मैदान निर्माण योजनामा १३ लाख ५ हजार १२२ रुपैयाँ र मोलुङ एकवार हर्कपुर पात्ले सडक आयोजनामा ६ लाख ६५ हजार ५४८ रुपैयाँ बढी भुक्तानी भएको देखिएको छ । अनुगमन गरिएका आयोजनाहरुमा अनियमितता भएको नागरिकको गुनासो आएपछि अनुगमन गरिएको प्रमुख श्रेष्ठको भनाई छ ।
प्रदेश सरकारको बजेटमा जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत निर्माण गरिएको निशंखे खेलमैदान निर्माण भएलगत्तै वर्षातलगत्तै भत्किएपछि यसअघि पनि विवादमा परेको थियो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त योजना भत्कनुमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाउँदै आएका थिए ।
समितिले संविधानको धारा २२० को उपधारा ७ को ख तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९२ को उपदफा १ को ख र जिल्ला सभाबाट स्वीकृत अनुगमन तथा मूल्यांकन कार्यविधि २०७५ अधिनमा रही स्थानीय तह, सरकारी कार्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले सञ्चालन गरेको योजना तथा कार्यक्रमको अनुगमन गर्दै आएको छ ।