रासस
बिहिवार, फाल्गुन १, २०७६
427

भीमदत्तनगर- सुक्खा बन्दरगाह निर्माणको विषयलाई लिएर भ्रमपूर्ण अपवाह फैलिँदा कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा स्थापना हुने सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको छ ।१२ वर्षअघि सरकारले कञ्चनपुरको कञ्जभोजमा सुक्खा बन्दरगाह निमार्ण गर्ने प्रस्ताव गरेको भए पनि पछिल्लो दुई वर्षयता स्थानीयवासीको विरोधले प्रक्रिया अघि बढ्न नसकेको हो । “सुक्खा बन्दरगाह बनेपछि पूरै बस्ती नै विस्थापित हुन्छ भन्ने भ्रम गाउँमा छरिएको रहेछ”, वडाध्यक्ष ज्ञानेन्द्रबहेक क्षेत्रीले भने, “पछिल्ला केही महिनायता जनप्रतिनिधिको सक्रियताले स्थानीयवासी केही सकारात्मक भएका छन् ।”
उनले दशकअघि सुक्खा बन्दरगाह प्रस्ताव भए पनि मुलुकमा भएको राजनीतिक उतारचढाव र सरकार फेरबदलका कारण ढिलाइ भएको बताउनुभयो । सुक्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न स्थानीयवासीलाई सम्झाउन पछिल्लो समय संघीय मन्त्रीदेखि राजनीतिक दलका नेताले समेत प्रयास गरे । “सुक्खा बन्दरगाहका लागि प्रारम्भिक सबै काम भइसकेको छ”, वडाध्यक्ष बहेकले भने, “अहिले स्थानीयवासीले दोधाराभित्रै बस्ती व्यवस्थापन र रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेका छन् ।” भारतीय सीमासित जोडिएको कञ्जभोजमा झण्डै ४०० परिवारको बसोबास रहेको छ ।