कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
294

पाल्पा जिल्लामा पछिल्लो समय करदाताको संख्या बढेको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा मात्रै ३८ प्रतिशतले वृद्धि भएको पाइएको छ । पहिलो चौमासिकको अवधिमा जिल्लामा २९ हजार ९२९ करदाता रहेको करदाता सेवा कार्यालयले जनाएको छ । आव २०७५-७६ को असार मसान्तसम्ममा २१ हजार ६७१ करदाता रहेका थिए ।
करको दायरा बढ्नु, कर शिक्षा प्रभावकारी हुनु, आर्थिक कारोवार गर्ने सबैलाई अनिवार्यरूपमा प्यान नम्बर लिनुपर्नेजस्ता कारणले करदाताको संख्या बढ्न गएको करदाता सेवा कार्यालयका प्रमुख सागर पोखरेलले बताए ।
करदाताको संख्या वृद्धि भएसँगै चालू आवको चार महिनाको अवधिमा २१ करोड ५५ लाख रकम संकलन भएको छ । अघिल्लो आवको अवधिमा ४५ करोड ३१ लाख तीन हजार ४४३ रुपैयाँ राजश्व संकलन भएको थियो । यस वर्ष सरकारले नीति तथा कार्यक्रममा बजेटसँगै करको दायरामा वृद्धि गरेकाले राजश्वसँगै करदाताको संख्या बढेको हो । पाल्पाको सदरमुकाम तानसेनमा रहेको करदाता सेवा कार्यालयले गुल्मी जिल्लामा पनि सेवा दिँदै आइरहेको छ ।