किरण आचार्य
शुक्रवार, मंसिर ६, २०७६
472

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी नेकपाका बैचारिक नेता घनश्याम भुसालले सम्हालेका छन् । बुधबारको पुनर्गठनपछि छिमेकी जिल्ला कपिलवस्तुका चक्रपाणी खनालको स्थानमा रूपन्देहीका भुसाल नियुक्त भएसँगै बिहीबार सपथपछि पदभार ग्रहण गरेका हुन् ।
नेकपा भित्रका बैचारिक नेताका रूपमा पहिचान बनाएका भुसालले अबको आफ्नो अभियान कृषि विकास नै रहने प्रतिवद्धता व्यक्त गरेका छन् । “परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त नगरी हाम्रो सम्पूर्ण राजनीतिक परिवर्तनको, क्रान्तिको अर्थ रहँदैन,” उनले भने, “संघीय लोकतान्त्रिक अर्थतन्त्रको अर्थतन्त्रलाई थेग्ने आधार भनेको परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्नु नै हो ।” आफूले बौल्दै आएको, बहस चलाउदै आएको विषय कृषिसँग नै सम्बन्धित रहेको भन्दै उनले कृषि विकासमा निश्वार्थ भावले लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मन्त्री भुसालले आफूलाई लोभले प्रभावित हुन्न होला र डरले प्रभावित नभइ काम गर्ने र कृषिका नयाँ कुरा सिक्दै अगाडि बढ्ने बताए । “कृषिका ठूला र मुलभूत समस्या हामी सबैलाई थाहा छ, मुलभूत समस्या समाधान किन भएको छैन भने विषयमा दशकौंदेखि छलफल भइसकेका छन्,” उनले भने, “धेरै अध्ययन र खोजी भएका छन्, ती खोजीलाई अगाडि बढाउने मेरो प्रयत्न हुनेछ ।” समस्या समाधानका लागि आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता उनको छ ।
भुसालले पदभार ग्रहण गरिरहँदा एक्कासी कार्यकक्षमा प्रवेश गरेका निवर्तमान मन्त्री चक्रपाणी खनालले अंकमाल गरेर बधाई दिए । “अब तपाइ मेरो अग्रज हुनु भइहाल्यो, कृषिका सफलता असफलता जे छन् मैले बोकेर जाने हो,” खनालसँग गफिँदै भुसालले भने, “जे सफलता छन् त्यसमा मैले टेक्ने हो, जे असफलता छन् त्यसमा मैले शिक्षा लिने हो, मलाई यसो गर्नु भन्नुहोला...।” बीचमै रोकेर खनाल बाहिरिएका थिए । “पदभार सम्हाल्नु भएको छ, शुभकामना दिन आएको हुँ, अरु कुरा पछि गरौंला,” खनालले गहभरीको आँसु लुकाउन खोज्दै कारोबारसँग भने ।
पदभार ग्रहणपश्चात स्वागत गर्न मन्त्रालयको हलमा भेला भएका कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफू मन्त्री भएको खण्डमा कृषि मन्त्री नै बन्ने सोच रहेको भुसालले खुलाए । “मैले २०५५–०५६ सालदेखि नै गुजारा श्रमलाई अन्त्य गर्नुपर्छ भन्दै आएको हुँ, मैले लेखेको, पढेको पनि यही नै हो, जति समय रहन्छु सबैको हितमा नै काम गर्छु,” कर्मचारीलाई लक्षित गर्दै उनले भने, “‘म यो सरुवा बढुवालाई घृणा गर्ने मान्छे हुँ, मैले तपाईहरूबाट मन्त्रीलाई स्वागतदेखि बिदाईसम्म औपचारिक हुनुभन्दा पनि व्यावहारिक रूपमा काम होस भन्ने चाहना छ ।” उत्पादन नबढ्ने, रोजगारी नबढाउने तर कुत खाने अर्थ प्रणालीलाई यथास्थानमा रोक्दै विकासको लागि अगाडि बढ्ने उनले बताए ।
परिणाममुखी काम गर्न मन्त्रीको कर्मचारीलाई निर्देशन थियो । “मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यो निकै प्राथमिकताको मन्त्रालय हो, मलाई पनि दबाब छ, काम गर्दा पनि अब परिणाम आउने गरी काम गर्नुको विकल्प छैन, तपाइँ गइदिनु है भनेर म आएको हो, यो सबै भन्दा प्राथमिकताको मन्त्रालय हो भनेर उहाँले नै भन्नु भएको छ,” उनले भने । आफूले राम्रोसँग काम गर्ने प्रतिवद्धता जनाउँदै उनले कर्मचारीलाई औपचारिकता हैन काममा ध्यान दिन निर्देशन गरे ।