कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
321

नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।
आइतबार राति अपहरणमा परेको भनिएको ट्यांकर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए । पेट्रोल पम्पमा चेक जाँच गर्नका लागि इन्धन वितरणमा रोक लगाइएको उनले जानकारी दिए । अपहरणमा परेको टयांकर बुधबार रित्तो अवस्थामा फेला परेपछि पम्पमा तेल राखेको आंशकामा थप अनुसन्धान गर्नका लागि इन्धन वितरणमा रोक लगाइएको प्रदेश १ कार्यलयले जानकारी दिएको छ ।

तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिराहाका सबै पम्पमा अनुगमन थालेको प्रमुख साहले बताए । थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको पनि उनले जानकारी दिए । ट्यांकर अपहरण प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आयल निगमको केन्द्रीय कार्यालयबाट चार सदस्यीय टोली विराटनगर प्रस्थान गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइत नेतृत्वको टोली विराटनगरतर्फ बुधबार प्रस्थान गरेको निगमले जनाएको छ ।
निगमको हराएको भनिएको डिजेल ट्यांकर फेला परेको छ । बुधबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित राजदेवी मन्दिर अगाडी तेल खाली गरिएको अवस्थामा फेला सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतबार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो । ट्यांकरलाई अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको थियो । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सह–चालकको आँखामा पट्टी बाँधेर बर्दिबास र लालबन्दीको बीचको जंगलमा छाडेका थिए ।
ट्यांकर हराएपछि निगमले प्रदेश नम्बर १ का प्रमुख इञ्जिनियर साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।