कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
386

 

पूर्वाधारमा सफलताका लागि खरिदमा खुल्ला प्रतिष्पर्धा र पारदर्शी छनोट

एड डाटाकी नीति विश्लेषक समन्त कष्टरले दिगो पूर्वाधारका लागि खरिदलाई बलियो बनाइ निष्पक्ष र खुल्ला प्रतिष्पर्धा, पारदर्शी छनोट र बजेट विनियोजनमा जोड दिएकी छिन् ।
अमेरिकी दुतावास र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रियामा उनले दीर्घकालीन सफलताका लागि खरिद प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिएकी हुन् । निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि नीति र बंैकिङ नियमनमा जोड दिँदै उनले स्थानीय समुदायको प्राथमिकता पहिचान र अनुगमनबाट पूर्वाधार लगानीमा सहयोग पुग्ने बताइन् ।
नेपालमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १० देखि १५ प्रतिशत बजेट वार्षिक रुपमा पूर्वाधार विकासका लागि आवश्यक रहेको बताउँदै जनतालाई उच्च फाइदा हुने गरी परियोजना अघि बढाउनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकले अदक्षतापूर्ण खर्च प्रक्रियाले ३० प्रतिशत सार्वजनिक लगानी गुमिरहेको उल्लेख गर्दै यसमा सुधार गर्नुपर्ने बताइन् ।
स्मार्ट डिजाइन, दक्षतापूर्ण खर्च र मर्मतबाट ५० प्रतिशतसम्म जीवनको लागत बचत हुने विश्व बैक २०१९ को प्रतिवेदनले देखाएको भन्दै उनले नमूना विकास ढाँचाको उपयोगबाट मात्र विकासमा लागि सहज वातावरण बन्ने बताइन् । जी २० ले गुणस्तर पूर्वाधारका लागि लगानीको अवरोध हटाउन ६ सिद्धान्त प्रतिवादन गरेको भन्दै उनले स्थानीय समुदायका लागि अधिकत्तम रुपमा अर्थ, वातावरण र सामाजिक प्रभावलाई पूर्वाधार लगानी गर्दा ध्यान दिनुपर्ने बताइन् । दीर्घकालीन पूर्वाधार बनाउँदा मर्मत सम्भार थेग्न नसक्ने गरी पूर्वाधार बनाउन नहुने, लगानीको मूल्य निर्धारण हुनुपर्ने, तत्कालीन र दीर्घकालीन रुपमा डिजाइन गर्दा ध्यान दिनुपर्ने, भूकम्पलाई लक्षित गरी भरपर्दो हुने पूर्वाधारमा लगानी गर्नुपर्ने, सहभागितामूलक पहुँचनको सुनिश्चित गर्नुपर्ने लगायतलाई जी २० ले महत्व दिएको उनले बताइन् । वार्षिक रुपमा विकसित राष्ट्रहरुले ३ ट्रिलियन डलको लगानी अभाव भोगिरहेको बताउँदै उनले डिजिटल विकासमा जोड दिनुपर्ने बताइन् ।