मनिषा चम्लागाईँ
शुक्रवार, कार्तिक २२, २०७६
379

झापा-नेपाल अलैंची व्यवसायी महासंघको टोली ‘तोदे’ जातको अलैंची अध्ययन अवलोकन गर्न भुटान प्रस्थान गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघ काभ्रेको संयोजनमा टोली बिहीबार भुटान गएको हो । टोलीमा नेपाली अलैंची व्यवसायी महासंघ बिर्तामोडका कार्यलय प्रमुख अनिल ढुंगाना, अलैंची व्यवसायी महासंघ काभ्रेका अध्यक्ष राजकुमार सापकोटा, पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणी सापकोटा, अलैंची विशेषज्ञ लगायत रहेका छन् ।
भारत र भुटानको सिमाना आसपासमा पाइने ‘तोदे’ जातको अलैंचीको खेती नेपालमा विस्तार गर्न व्यवसायी जुटेका हुन् । ‘तोदे’ जातको अलैंचीको विदेशमा उच्च माग रहेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले बताए । नेपालमा उत्पादन हुँदै आएको अलैंची भन्दा केही ठुलो र आकर्षक देखिने यो अलैंचीको विश्व बजारमा माग उच्च रहेको उनी बताउँछन् ।

अन्य अलैंची भन्दा तोदे जातको अलैंचीको बजार मूल्य प्रतिकिलो ३०० रुपैयाँ बढी रहेको अध्यक्ष कार्की बताए । तोदे जातको अलैंची उत्पादनका लागि इलामको मंगलबारे र काभ्रेको पनौती नगरपालिकाकोे हावापानी उपयुक्त रहेको विशेषज्ञको भनाइ छ । टोलीले ल्याएको अलैंची दुई विशेष जिल्लामा विस्तार गर्ने महासंघले योजना बनाएको छ । भुटान र भारतको सिमाना ‘तोदे’भन्ने ठाउँमा पाइने उक्त अलैंचीलाई नेपाल भित्र्याएपछि छुटुटै पहिचान दिने महासंघले जनाएको छ । सरकारले सहयोग गर्ने भएपछि व्यवसायीले यसको खेतीसमेत विस्तार गर्न लागेका हुन् ।
पूर्वी नेपालको इलामबाट सुरु भएको अलैंची खेती यतिखेर नेपालका विभिन्न जिल्लामा विस्तार भएको छ । नेपालका ४२ जिल्लामा अलैंची खेतीको सम्भावना रहेको अध्यक्ष कार्कीले बताए । उनले सम्भावना रहेका सबै जिल्लामा अलैंची खेतीको विस्तार गर्न सके उत्पादनले व्यापार घाटा न्यूनिकरणका लागि ठुलो योगदान पु-याउन सक्ने बताए ।

संखुवासभामा वेयर हाउस निर्माण सुरु

निर्यातजन्य प्रमुख नगदेवाली अलैँची को वेयर हाउस निर्माणमा महासंघ जुटेको छ । वेयर हाउस निर्माणमा आवश्यक जग्गाका लागि झापाको अर्जुनधारा नगरपालिकासँग सहकार्य भइरहेको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले बताए । अलैंची व्यवसायीको लामो प्रयासपछि प्रदेश–१ ले वेयर हाउस निर्माणका लागि बजेट विनियोजन गरेको हो । प्रदेश–१ ले अलैंचीको वेयर हाउस निर्माण गर्नका लागि झापा र संखुवनसभा गरेर ३ करोड रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ ।
संखुवासभामा भने वेयर हाउस निर्माणका लागि खाँदबारी नगरपालिकाले जग्गा उपलब्ध गराइ सकेको महासचिव भट्टराईले बताए । यस्तै लमजुङ्गमा वेयर हाउस निर्माण गर्नका लागि महासंघ गण्डकी प्रदेशसँग सहकार्य गरिरहेको जनाइएको छ । वेयर हाउस निर्माण सुरु भएपछि अलैंची व्यवसायी र किसान उत्साहित भएका छन् । वेयर हाउस निर्माणपछि अलैंची कहिले बिक्री गर्ने भन्ने चिन्ता हट्ने किसान बताउँछन् ।
गत वर्ष नेपालमा उत्पादन भएको अलैंचीले ५ अर्ब रुपैंयाँ नेपाल भित्र्याएको थियो । यो कुल उत्पादनको ८५ प्रतिशत बिक्रीबाट आम्दानी भएको महासंघका महासचिव सुवास भट्टराईले बताए । उनले नेपालमा गतवर्ष ४ हजार ७ सय मेट्रिक टन अलैंची उत्पादन भएको जानकारी दिए । अलैंचीको खेती बिस्तारसँगै कृषकको संख्या पनि वृद्धि भइरहेको उनले बताए । तर भारतको आसाम, सिक्किम, अरुणाचल र भुटानमा वृद्धि भइरहेको अलैंची खेतीका कारण नेपाली उत्पादनले चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको उनले जनाए । पछिल्ला वर्ष झापाको काँकडभिट्टा भन्सारबाट ८० प्रतिशत अलैंची निर्यात हुँदै आएको छ । बाँकी अलैंची रानी भन्सार विराटनगरबाट निर्यात हुन्छ ।