मनिषा चम्लागाईँ
बिहिवार, कार्तिक २१, २०७६
456

झापा-साग, सिमी, बोडी, बन्दाकोपी, स्कुस, खुर्सानी, गोलभेडा, लसुन लिएर झापाको गौरादहमा लाग्ने हाटबजार आएका गौरादह नगरपालिका –१ का प्रसाद ताजपुरीया आइतबार साँझ सबै तरकारी फिर्ता लिएर घर फर्किए । स्थानीय उत्पादन भएकै कारण ताजपुरीयाको तरकारी बिक्री नभएको हो । बजारमा भारतबाट आयात गरिएको तकारी सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको रोजाइमा भारतीय तरकारी पर्ने गरेको छ ।
“भारतबाट ल्याइएको तरकारी सस्तो मूल्यमा पाइन्छ” ताजपुरीयाले भने, “भारत सरकारले तरकारी खेती गर्ने किसानलाई अनुदान दिन्छ, बिउ, मलखाद उपलब्ध गराउँछ, जसले गर्दा खेतीमा लागत कम पर्छ र भारतीय किसानले उत्पादन गरेको तरकारी बजारमा सस्तो मूल्यमा पाइन्छ ।”

विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आएका ताजपुरीयाले सरकारले किसानको समस्या बुझन नसकेको गुनासो गर्छन् । तरकारी खेती गर्न जग्गाको व्यवस्थापनदेखि उत्पादित तरकारीको बजारीकरणमा समेत स्वयम् किसान नै लाग्नुपर्ने बाध्यता रहेको ताजपुरीयाले सुनाए । नेपालमा उत्पादित तरकारी आफ्नै देशमा बिक्री गर्ने वातवरण बनेको छैन । “हामीले उत्पादन गरेको अर्गानिक तरकारी बिक्री हुँदैन, विषादी हालेको दैनिक करोडौँ मूल्य बराबरको तरकारी भारतबाट आयत हुन्छ” ताजपुरीयाले भने ।
ताजपुरीया मात्र नभइ गौरादह –३ की धनमाया राजवंशी पनि तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा पर्ने चिन्तामा छिन्् । “केहि वर्ष पहिले त राम्रै बिक्री हुन्थ्यो” राजवंशीले भनिन् “यही व्यवसायबाट घरधन्दा चल्थ्यो, यसवर्ष त लगानी पनि नउठ्ने भयो ।”
अघिल्ला वर्ष तरकारीबाट राम्रो आम्दानी भएपछि तरकारी खेती अझ विस्तार गरेको बताउने उनले यस वर्ष भने साइकलमा बाँधेर ल्याएको तरकारी साँझ घरमा लगेर गाईभैंसीलाई खुवाउनु पर्ने अवस्था आएको बताइन् । गौरादह बजारमा भारतबाट आउने तरकारी नरोकेसम्म स्थानीय उत्पादन बिक्री नहुने उनी बताउँछिन् ।
हाट बजारसम्म ल्याएको साग प्रतिमुठा २० रुपैयाँमा पनि बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन बाध्य भएको किसानले बताए । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारी खेती सुरु गरेका किसान अहिले विदेशिनुको विकल्प नभएको सुनाउँछन् । भारतबाट आउने सस्तो तरकारी र बिचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय मेघराज घिमिरेले बताए । यस क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यस वर्षको बजार मूल्यका कारण धेरै किसान निराश बनेको घिमिरे बताउँछन् । लाखौँको तरकारी खेर जाँदासमेत सरकारी निकायले कुनै पनि किसिमको सहयोग नगरेको उनको भनाई छ ।
यता झापाकै बिर्तामोड, दमकलगायतका मुख्य बजारमा भने तरकारीको मूल्य आकासिएको छ । बिर्तामोड, दमक लगायतका बजारमा साग प्रतिमुठा ५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।
बिर्तामोडको कृषिथोक बजारमा सिमी ६० रुपैयाँ, बन्दाकोपी, स्कुस, बोडीलगायतका तरकारी ५० रुपैयाँ किलोसम्म कारोबार भइरहेको कृषिथोक बजारकी व्यापारी मञ्जु निरौला बताउँछिन् । कृषिथोकमा अन्य तरकारीको मूल्य पनि बढी नै छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्ला भित्रै तरकारी कतै फालाफाल त कतै हाहाकारको अवस्था आएको छ । उत्पादनमा सन्तुलन नभएकालेसमेत उपभोक्ता मारमा पर्दै आएका छन् ।