घनश्याम पौडेल
बिहिवार, कार्तिक १४, २०७६
191

अर्घाखाँची जिल्लालाई कृषि क्षेत्रमा अगाडी बढाउन पकेट क्षेत्र अनुसारका कार्यक्रमहरु सुरु भएका छन् । जिल्लामा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । अर्घाखाँची जिल्ला मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा करोडौं मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँमा बीउ उत्पादन, मौरीपालन व्यवसाय, च्याउखेती, कफी खेती, अलैंची, पुष्पखेती, खाद्यान्न बाली लगायतका खेती गरिँदै आएको छ ।

चालु आर्थिक वर्षका लागि जिल्लामा साना सिँचाई कार्यक्रम, कागती सुन्तला मिसन कार्यक्रम, फलफूल बिरुवा रोपण कार्यक्रम, मौरी विकास, रेशम प्रवद्र्धन, मौरी चरण क्षेत्र विस्तारलगायतका कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेर स्वीकृत गरेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्रले बताए ।
जिल्लाको पाणिनी गाउँपालिकाको धातिवाङ्ग र मालारानीको बामरुकमा सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै अझै दुई गाउँमा थप कार्यक्रम सञ्चालन गर्ने मिश्रले बताए ।
जिल्लामा मौरी श्रोतकेन्द्र ५ वटा, फलफूल नर्सरी ५ वटा, कृषि सहकारी ५७, बीउविजन समुह ७५, कृषि आपूर्तिकर्ता ३, पुष्प नर्सरी २ ठाउँमा सञ्चालन भएको कृषि ज्ञान केन्द्रका नारायणप्रसाद भुसालले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले उत्पादनमा वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । जिल्लाको कुन भू–भागमा कस्तो खेती गर्न सकिन्छ भन्ने प्राविधिक अध्ययनबाट मात्रै कार्यक्रम अगाडी बढाउनुपर्ने बताए ।