विप्लव काफ्ले
आइतवार, कार्तिक ३, २०७६
534

गैंडाकोट-घाँसका बेर्ना बेचेरै गैंडाकोट हर्कपुरका विष्णु भट्ट मनग्य आम्दानी गर्न सफल भएका छन् । रोजगारीका लागि ४ वर्ष मलेसिया बसेका भट्ट आजभोलि स्वदेशमै स्वरोजगार बनेका हुन् । घाँसको बेर्ना बेचेरै ६ महिनामै उनले ३१ लाख कमाएका छन् । गत वर्ष २७ लाख, यो वर्र्ष ४ लाख बराबरका बेर्ना बेचेका छन् । प्रति बेर्ना १० रुपैयाँ पर्छ ।
उनको ७ विघामा व्यवसायीक घाँस खेती रेको उनको बगैंचाबाट सुपर नेपियर जातको घाँसको बेर्ना बढी बिक्री हुने गरेको छ ।

२२ जातका घाँस उत्पादन गर्दै आएका उनले श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म पनि सञ्चालन गरेका छन् । गैंडाकोट ११ भेडाबारीमा ४ विघा, १२ हर्कपुरमा साढे २ विघा, १३ मा १० कट्ठामा घास खेती छ । सबै जग्गा वार्षिक ३ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएका हुन् ।
“जग्गा अभावकै कारण हतोत्साहित किसानलाई सहज घाँस उपलब्ध गराउने योजना छ” भट्टले भने, “अहिले बेर्ना बेचिरहेका छौँ, निकट भविष्यमा ‘साइलेज’ बनाएर बेच्ने योजना छ ।” १ सय केजी बराबरको घाँसबाट एक साइलेज पोका बनाइने बताए । साइलेजको मूल्य प्रतिकेजी ६–१० रुपैयाँसम्म पर्छ । हाल परालकै मूल्य प्रतिकेजी १७ रुपैयाँसम्म पर्छ । हरियो घाँसको पोषण तत्व कायमै रहने गरी सुकाएर राख्ने प्रविधिलाई साइलेज भनिन्छ । बाह्रैमास हरियो घाँसको विकल्पका रुपमा साइलेज प्रयोग गर्न सकिन्छ । “अझै घाँस खेती विस्तार गर्ने सोच छ” भट्ट भन्छन्, “घाँसको अधिक माग छ, पु¥याउनै सकिएको छैन ।”
वर्दियाको ‘एग्रो राप्ती टाइगर’सँग सहकार्य गरेर १ सय विघामा घाँस खेती गर्ने योजनामा छन् । उनका अनुसार सहकारी, स्थानीय तहमार्फत बेर्ना किसानसम्म पु¥याउने गरिएको छ । गैंडाकोट, नवलपुर लगायतका जिल्लामा बेर्ना, घाँस र बाख्रा बेच्ने गरेका छन् । काभ्रेबाट ल्याएर खेती गरिएको ‘थाइ सुपर नेपियर’ जातको घाँस बढी खपत हुने गरेको छ । “घाँसनै खोज्न आउने किसान बढी छन्”, उनले भने, “बेर्ना लगाउन भन्दै आएका छौँ, सुपर नेपियर निरन्तर उत्पादन लिन सकिने जातको घाँस हो ।”
एक पटक लगाएपछि वर्षौसम्म लगाउन नपर्ने, ३–४ महिनामै घाँस तयार हुने, १८ फिटसम्म अगले हुने, अन्य घाँसभन्दा पोषिलो भएकाले सुपर नेपियरको माग बढेको बताउँछन् । बाख्रापालन गर्ने सोच बनाए लगत्तै उनले सुरुमा २ विघामा घाँस खेती गरेका थिए । त्यो बेला १२ बाख्रा थिए । हर्कपुरमा रहेको फर्ममा खरि र बोयरजातका ६० बाख्रा छन् ।
उनले निकट भविष्यमै देशभर व्यवसायीक खेती विस्तार गर्ने सोच रहेको बताए । जमिनको खण्डीकरण, शहरीकरण लगायतका कारण जग्गा प्रयाप्त नहुँदा पशुपालन, बाख्रापालनका लागि पशुआहारा व्यवस्थापनका लागि चुनौती देखा पर्न थालेका छन् । उनले परम्परागत गीठाको १० कट्टठामा खेती गरेका छन् ।
गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले व्यवसायीक पशुपालन, खेतीमा लागेका किसानलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
“उदाहरणीय खेती भएको देखिन्छ, घाँसमा आधरित पशुपालन गर्दा कम लागतमा उत्पादन हुने वातावरण बन्नेछ” उनले भने, “व्यवसायीकता र मेहनतको उदाहरण हो, स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ ।” उनले पशु सेवा शाखाको यो वर्ष ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
किसानलाई पशु आहार सेवा कार्यक्रममा ७५ प्रतिशत अनुदान, जै वर्षिम, मेच, सुडान, रियोसेन्ट्री लगायतका जातका घाँस बीउ, बेर्ना अनुदान दिने गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले स्थानीय उद्यमी, व्यवसायप्रति आकर्षणको वातावरण बनाउन लागिपरेको बताए ।


सातामा धेरै पढिएको