मेगराज खड्का
शुक्रवार, आश्विन १७, २०७६
700

रुकुम-दसैं तिहार नजिकिएसँगै बैंक तथा वित्तिय संस्थाहरुमा रेमिट्यान्सको दर बढेको छ । आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्समार्फत् ठूलो मात्रमा रकम जिल्लामा भित्रिएको छ । जिल्लामा सबै बैंक तथा वित्तिय संस्थामार्फत् मासिक दरदर १० करोड भन्दा बढीको रेमिट्यान्स रकम भित्रिने आँकलन गरिएको छ ।
सहकारी संस्थाहरुमा जिल्लाकै सबैभन्दा बढी रेमिट्यान्स कारोबार गर्दै आइरहेको डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थामार्फत् नै मासिक १ करोड भन्दा बढीको रेमिट्यान्स भित्रिने गरेको छ । सहकारी संस्थाका प्रबन्धक यज्ञ बिष्टका अनुसार उक्त रकममा चाडपर्वको समयमा २५ प्रतिशतसम्म वृद्धि हुने गरेको छ । “अन्य समयमा भन्दा स्वभाबिक रुपमा चाडपर्वको समयमा बढी रेमिट्यान्स भित्रिने गरेको छ” उनले भने, “यसको कारण बिदेशमा रोजगारीको सिलसिलामा रहेकाहरुले दसैंमा खर्च पठाउने भएकाले हुनुसक्छ ।” सहकारीमा आधा दर्जन बढी देशहरुबाट रकम आउने गरेको छ ।

एनआईसी एसिया बैंक रुकुम शाखाबाट पनि मासिक सरदर ३५-४० लाख रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । बैंकमा आउने रेमिट्यान्समा बाह्य भन्दा आन्तरिक रेमिट्यान्सको दर बढी रहेको बैंकका प्रवन्धक सुनिरजंग शाहले जानकारी दिए । रेमिट्यान्स गर्दा एक पटकमा ६० हजार भन्दा कम मात्र गर्न पाइने कानूनी व्यवस्था सुरु भएपछि रेमिट्यान्स भन्दा बैंकमा जम्मा गर्ने संख्या बढेको उनको भनाई छ ।
त्यसैगरी महालक्ष्मी विकास बैंक रुकुम शाखामा पनि मासिक सरदर १ सय वटा रेमिट्यान्स जिल्लामा आउने गरेका छन् । चाडपर्व सुरु भएसँगै त्यसको दर पनि बढेको छ । अघिल्लो महिना १ सय वटा मात्र भएको रेमिट्यान्स यस महिना डेढ सय वटा बढी भएको बैंकका प्रवन्धक हरि शर्माले जानकारी दिए । “हाम्रो बैंकमार्फत् महिनामा करिब ५० लाखको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ” उनले भने, “अघिल्लो महिना ४२ लाख भित्रिएको छ ।”


सातामा धेरै पढिएको