लक्ष्मी सापकोटा
बिहिवार, आश्विन १६, २०७६
455

भैरहवा-रुपन्देहीको भैरहवामा इन्धन भण्डारण क्षमता न्युन हुँदा बजार माग धान्न मुस्किल परेको छ । इन्धनको माग दिनप्रतिदिन बढ्दै गएपनि भण्डारण क्षमता बढाउन नसक्दा बजारमा आपूर्ति व्यवस्था सहज बनाउन कठिन भएको हो ।
इन्धनको भण्डारण न्युन हुँदा अभाव हुन सक्ने नेपाल आयल निगम भैरहवाको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । इन्धन वितरणमा तेस्रो स्थानमा पर्ने यस कार्यालयमा इन्धन भण्डारण न्युन हुँदा आपूर्ति व्यवस्था सहज पार्न कठिन हुने देखिएको छ । डिजेल तीन दिन दिनलाई पुग्ने भण्डारण क्षमता रहेपनि पेट्रोलको भने भण्डारण नै न्यून हुँदा बजारमा अभाव हुने गरेको छ ।

निगमको प्रादेशिक कार्यालयलमा पेट्रोल एक सय ४० किलोलिटर, डिजेल तीन हजार ४० किलोलिटर, मट्टितेल तिन सय ७९ र हवाई इन्धन ७८ किलोलिटर इन्धको भण्डारण क्षमता रहेको प्रादेशिक कार्यलयले जानकारी दिएको छ । कार्यालयका अनुसार दैनिक दुई सयदेखि दुई सय ५० किलोलिटर पेट्रोल, एक हजारदेखि एक हजार एक सय डिजेल र १२ देखि २४ किलोलिटर मट्टितेल खपत हुने गरेको छ ।
कार्यलयका प्रमुख ई सुरज शाहले इन्धनको भण्डारण क्षमता न्युन भएकाले धेरै समस्या रहेको बताए । “पेट्रोलको खपत दैनिक दुई सय किलोलिटरसम्म हुने गर्छ, उनले भने, “एक सय ४० किलोलिटर मात्र भण्डारण क्षमता रहेको पेट्रोल वितरण गर्न धेरै समस्या हुने गरेको छ ।” बजारमा पेट्रोलको माग धेरै रहेको र भण्डारण क्षमता पनि अत्यन्त न्युन भएकाले आपूर्तिमा अवरोध हुँदा साथ बजारमा अभाव हुने उनको भनाई छ ।
भैरहवाको प्रादेशिक कार्यलयमा बेतालपुर, मुगलसराय र गोन्डा नाकाबाट इन्धन आयात हुने गर्छ । बेतालपुर नाकाबाट दैनिक ४० टयाङकर तेल आउने गर्छ । भैरहवा कार्यलयबाट स्याङ्गजा, कपिलवस्तु, रुपन्देही, गुल्मी, अर्घाखाची, पाल्पा, दाङमा वितरण हुने गर्छ ।