सागर परियार
शुक्रवार, आश्विन ३, २०७६
547

 

ग्रेडिङ मेसिन थन्किदा किसान घाटामा

जुम्लाको पातारासी गाउँपालिकाका किसानले स्याउको ग्रेडिङ नहुँदा सोचेअनुरुप मूल्य पाएका छैनन् । पातारासी– ६ का तारा बोहोराले उत्पादन गरेको १५ क्वीन्टल भन बढी रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउको ग्रेडिङ गर्न नपाएको बताए ।
‘करोडौं मूल्य लगानी गरेर ल्याएको ग्रेडिङ मेसिन थन्किएको छ; उनले भने, ‘किसानले स्या ग्रेडिङ गर्न नपाएँदा उचित मूल्य पाएका छैनन् । सानो ठूलो स्याउ सबै हचुवाको भरमा बेच्नु परेको छ ।’
व्यापारीहरु बिना ग्रेडिङ किसानले भनेको मूल्यमा खरिद गर्न मन्जुर नहुँदा प्रतिकेजी २० देखि २५ रुपैयाँमा बिक्री गर्नुपरेको अर्का किसान तारा बोहोराको गुनासो छ । जुम्लाको स्याउ मिठो, गुणस्तरीय भए पनि हेर्दा राम्रो नदेखिने भएकाले ग्रेडिङ बिनाकोे बजार पाउन समस्या भएको स्थानी किसान चन्द्र सार्कीले बताए ।
ग्रेडिङ नभएकै कारण यस वर्ष स्याउबाट लक्ष्य अनुसारको कमाई गर्न नसकिएको उनको भनाई छ । ‘स्याउ जुम्लामै मेसिनबाट ग्रेडिङ भए किसानलाई ठूलो राहत मिल्ने थियो,उनले भने, ‘करोडौं खर्च गरेर जुम्ला पुगेको मेसिन सञ्चालनमा ल्याउन नसकी किसान घाटामा जानु परेको छ ।’
चाँडै सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै मेसिन ल्याएको एक दशक बितिसक्दा पनि मेसिन सञ्चालनमा आउन सकेको छैन् । ग्रेडिङ गरेपछि स्याउ सफा, राम्रो र चिटिक्क देखिने, साइज अनुसार स्याउको मूल्य निर्धारण हुने हुँदा किसानले उचित मूल्य पाउँथे । तर यसवर्ष जुम्लामा स्याउ उत्पादन बढी भएपनि लक्ष्य अनुसार आम्दानी हुन नसक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् ।

एक दशकेदेखि थन्कियो मेसिन
जुम्लामा यसवर्ष ६ हजार क्वीन्टल स्याउ उत्पादन भएको छ । करिब ३ हजार हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ भने, करिब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार जुम्लामा हुने अनुमान छ । तर एक दशक अघि ल्याएको स्याउ ग्रेडिङ मेसिन सञ्चालनमा नआउँदा त्यसको प्रभाव यसवर्ष देखिने जिल्ला सहकारी संघका अध्यक्ष पदम महतले बताए ।
‘ग्रेडिङ मेसिन सहकारीमार्फत् सञ्चालन गरेका हौं’ उनले भने, ‘जुम्लामा पर्याप्त बिजुलीको सुविधा नहुँदा मेसिन सञ्चालनमा आउन सकेको छैन ।’
लामो समयदेखि सञ्चालनमा नआउँदा मेसिन बिग्रिएको छ । पटक पटक मर्मत गरेपनि मेसिन सुचारु नगर्दा पुनः बिग्रिएको महतले बताए ।

मेसिनको लागत ८० लाख
करिव ८० लाख रुपैयाँको लागतमा २०६७ सालमा खरिद गरि ल्याएको मेसिन प्रयोगमा नआउँदा स्याउ किसान प्रत्यक्ष मारमा परेका छन् । साविक कर्णाली अञ्चल आत्मनिर्भर कार्यक्रम अन्तर्गत फलफूल विकास निर्देशनालयको ६० लाख अनुदान सहयोग र जिल्ला सहकारी संघको १० लाख गरी ८० लाखको लागतमा मेसिन ल्याइएको थियो ।
२०६७ सालमा जुम्ला ल्याइएको मेसिन थन्कदा किसान ग्रेडिङ गर्ने सुविधाबाट वञ्चित भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘सहकारी संघसँग आवश्यक मेसिन सञ्चालनका लागि छलफल भइरहेको उनको भनाई छ ।