विप्लव काफ्ले
शुक्रवार, आश्विन ३, २०७६
720

भरतपुर-खैरहनी–१, ज्यामिरेको डल्लाकोटी पोल्ट्री प्रालि चितवनकै पुराना पोल्ट्री फार्महरुमध्येको एक हो । बाबुले कुखुरापालनको व्यवसाय सुरु गर्दा यसका अहिलेका सञ्चालक केदारनाथ डल्लाकोटी जन्मिएकै थिएनन् । ३८ वर्षदेखि चल्दै आएको उनको पोल्ट्री व्यवसाय अहिले संकटमा छ । लेयर्स कुखुरा पालन गर्दै आएका उनले लागतभन्दा निकै कम मूल्यमा अण्डा बिक्री गर्न थालेको एक वर्ष भयो ।
‘जमिन नै बेचेर ऋण तिर्नुपर्ने अवस्थामा पुगियो’, उनले भने, ‘यति पूरानो व्यवसायमा पहिलोपल्ट ठूलो संकट आइपरेको छ ।’ उनले उत्पादन गरेको ठूलो अण्डा अहिले प्रतिक्रेट २ सय २० रुपैयाँमा बिक्री हुन्छ ।

तर, यसका लागि लागत ३ सयभन्दा बढी परेको उनको दावी छ । खैरहनीकै लदरीमा रहेको कोसिस पोल्ट्री पनि उनैको हो । यी दुई फार्ममा गरी उनले २५ हजार कुखुरा पालेका छन् । यसमध्ये १८ हजारले अण्डा दिन्छन् । एक दिनमा १४ हजार पाँच सयवटा अण्डा बिक्री गर्छन् । ‘अहिलेकै अवस्थामा अब व्यवसाय अगाडि बढाउन गाह्रो छ’, डल्लाकोटीले भने ।
रत्ननगरका प्रकाशमणि सापकोटाले सूर्या पोल्ट्रीमा ८ हजार कुखुरा पाल्दै आएको आठ वर्ष भयो । केही महिनायता लगातार घाटा हुन थालेपछि उनले व्यवसाय नै बन्द गरे । ‘कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ । किसानले उत्पादनको लागत पाउन धेरै गाह्रो भयो’, सापकोटाले भने, ‘बैंकलाई ब्याज बुझाउन पनि नसक्ने अवस्था आएपछि सबै बिक्री गरेर बन्द गरें ।’ एक वर्षको अवधिमा व्यवसायमा ३७ लाख रुपैयाँ घाटा भएको उनी बताउँछन् । दुःखले गरेको उत्पादनको मूल्य बिचौलियाले धेरै खाएको कुखुरा पालक किसानको भनाइ छ ।
एक वर्षअघि ठूलो अण्डाको मूल्य किसानले प्रतिक्रेट ३ सय २० रुपैयाँ पाउँथे ।
अहिले एक सय रुपैयाँ कम छ । किसानले अण्डाको मूल्य प्रतिगोटा ७ रुपैयाँ पाउँछन् । तर, लागत ११ रुपैयाँभन्दा बढी रहेको किसानहरु बताउँछन् । उपभोक्ता मूल्य भने एक वर्ष अघिकै छ । बजारमा अण्डा प्रतिगोटा १५ रुपैयाँ पर्छ । सानो अण्डाको मूल्य २ सय १० बाट घटेर १ सय ८० भन्दा तल पुगेको छ ।
दानाको मूल्य प्रतिकिलो ४२ बाट बढेर ५३ पुगेको छ । दाना बनाउनका लागि प्रायः कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्छ । मकै, भटमास, सूर्यमूखी पिनालगायत कच्चा पदार्थमा १० देखि ५० प्रतिशतसम्म मूल्य बढेका कारण तयारी दानाको मूल्य बढेको उत्पादक बताउँछन् । कुखुराका लागि आवश्यक औषधिमा पनि २० प्रतिशत सम्म मूल्यवृद्धि भएको छ ।
भरतपुर–१४, शिवनगरमा शर्मा पोल्ट्री सञ्चालन गर्दै आएका गोविन्द शर्मा बिचौलिया नियन्त्रण गर्न नसक्दा किसानहरु मर्कामा परेको बताउँछन् । किसान र उपभोक्ताबीचको मूल्यको अन्तर बढ्दै जाँदा व्यवसायबाट पलायन हुने अवस्था आएको उनले बताए । यसलाई नियन्त्रण गर्न निरन्तर अनुगमन अवश्यक रहेको किसानहरु बताउँछन् ।

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो
चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । २ सय २० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० पु-याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।