अमरराज आचार्य
बुधवार, भदौ २५, २०७६
431

दाङ-जिल्लामा जडिबुटी प्रशोधन केन्द्र नहुँदा सामुदायिक र निजी वनबाट वार्षिक कम्तिमा तीन हजार क्वीन्टल जडिबुटी जिल्लाबाट बाहिरीएको छ ।
दाङबाट पछिल्लो एक वर्षको अवधिमा करिव तीन हजार क्वीन्टल भन्दा बढि विभिन्न प्रजातिका जडिबुटी जिल्ला बाहिर निकासी भएको छन् । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा तीन हजार ६९ क्वीन्टल विभिन्न प्रजातिका जडिबुटी जिल्ला बाहिर निकासी भएको हो ।

एक वर्षको अवधिमा राष्ट्रिय वनबाट ६६ हजार एक सय ८५ दशमलव ५० किलोग्राम र निजी वन क्षेत्रबाट दुई लाख ४० हजार ८ सय ११ किलोग्राम जडिबुटी जिल्ला बाहिर निकासी भएको सरकारी तथ्यांक छ । जसमा सबैभन्दा धेरै टिमुर बाहिरिएको छ । निजी वन क्षेत्रबाट ७६ हजार ६ सय किलो र राष्ट्रिय वनबाट १५ हजार किलो गरि जम्मा ९१ हजार ६ सय किलोग्राम टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । त्यस्तै मालागेडी ६३ हजार ६ सय ६० किलो, रिठा ५८ हजार ५ सय ८० किलो, काउलो बोक्रा २२ हजार सात सय ९१ किलो जिल्ला बाहिर गएको कार्यालय जनाएको छ ।
त्यस्तै तेजपात १९ हजार पाँच सय किलो, दालचिनीको बोक्रा ८ हजार ५ सय किलो, लहरे गुर्जो ५ हजार ७ सय किलो, अमला ३ हजार ६ सय किलो र कालीकाठ ३ हजार ८० किलो निकासी भएको छ ।
राष्ट्रिय वनबाट बर्रोको फल २ हजार किलो, दुधेलहरा २ हजार पाँच सय किलो, भृंगीराज एक हजार ६ सय किलो, बेलचनाको फल एक हजार किलो, तेन्दुपात दश हजार किलो, ब्राह्मी एक हजार सात सय किलो, लेवनग्रास पाँच सय किलो, चुत्रो ६ सय ८५ किलो, टटेको बोक्रा एक हजार पाँच सय किलो, पुदिना पाँच सय किलो, कालादाना पाँच सय किलो र हर्राेको फल तीन हजार किलो जिल्लाबाट निकासी भएको छ ।
जसबाट दुई लाख १२ हजार रुपैयाँ संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । सरकारले राष्ट्रिय वनबाट संकलित जडिबुटीको राजश्व लिने गरेको छ भने निजी क्षेत्रबाट संकलन भएको जडिबुटीको कर लिने गरेको छैन । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा यो वर्ष दोब्बर जुडिबुटी निकासी भएको छ । आर्थिक वर्ष २०७४÷०७५मा राष्ट्रिय वनबाट १७ हजार चार सय ५४ केजी जडिबुटी जिल्ला बाहिर गएको थियो । जसबाट एक लाख २८ हजार २८ रुपैयाँ राजश्व संकलन भएको थियो ।