कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
633

सामाजिक सुरक्षा कोष र सरकारले तोकेको तलव सुविधा नपाएको भन्दै ढुवानी मजदुरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले मजदुरलाई सरकारले तोकेको तलब सुविधा नदिएको भन्दै मजदुरले पेट्रोलियम पदार्थको ढुवानी नै बन्द गर्ने चेतावनी दिएका हुन ।
दशैं, तिहार र छठलगायतका चार्डपर्व नजिकिएको बेलामा आन्दोलन शुरु हुँदा कृतिम अभाव श्रृजना गरेर बढी मूल्यमा बिक्री गर्नेदेखि कालोबजारी गर्ने गिरोह सक्रिय हुने भन्दै नेपाल आयल निगमले वार्ताद्वारा समस्याको समाधान खोज्न मजदुर र ट्यांकर व्यवसायीलाई आग्रह गरेको छ ।

चाडपर्वको समयमा सामान्य अवस्थामा भन्दा पेट्रोलियम पर्दाथको माग दाब्बरले बढी हुने गर्छ । चाडपर्वको बेलामा आन्दोलन भए सर्वसाधारण उपभोक्ता अफ्ठेरोमा पर्ने भन्दै उपभोक्तावादी संघ संस्थाले आन्दोलन नगर्न आग्रह गरेका छन् ।
अखिल नेपाल मजदुर संघले एक विज्ञप्ती निकालेर नेपाल सरकारले तोकेअनुसारको सेवा सुविधा नपाएकाले ढुवानी रोक्ने चेतावनी दिएको हो । निगमले भने सरकारले तोकेको सेवा सुविधा दिएर मजदुरका समस्याको हल गर्न ढुवानी व्यवसायीलाई आग्रह गरेको छ ।
न्यूनतमा पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी सेवा सुविधा नपाएको मजदुरकोे गुनासो देखिएकाले सोको समाधान गर्न निगमलेसमेत आग्रह गरेको छ ।
चाडपर्वमा पेट्रोलियम पदार्थको माग अत्याधिक हुने भएकाले पेट्रोलियम पदार्थको सहज र सरल आपूर्ति एवं विक्रि वितरण गर्ने वातावरण बनाउन आग्रह गरिएको निगमद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीहरुले भने आफूले ढुवानी मजदुरका समस्या समाधान गर्ने पहल गरिराखेको बताएका छन् ।