कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
521

विराटनगर-पर्यटन क्षेत्रमा लगानी गर्न पूर्वका उद्योगी व्यवसायीहरूले नेपालका लागि यूनाइटेड अरब इमिडेट्स युएई (दुबई)का राजदूत सइद एचएम अल हन्तोवी अल नक्वीसँग आग्रह गरेका छन् ।
पूर्वमा पर्यटनको प्रचुर सम्भावना बताउँदै उनीहरूले राजदूत नक्वीलाई दुबई ठूला लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको राजदूतसँगको छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले अरबका लगानीकर्तालाई नेपालमा लगानी गर्न दूतावासमार्फत पहल र समन्वय गर्न आग्रह गरे । “पर्यटनको क्षेत्रमा अरबले गरेको विकास प्रशंसनीय छ । नेपालको पूर्वी क्षेत्रमा पनि पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसक्षेत्रका साथै औद्योगिक क्षेत्रमा प्रविधि हस्तान्तरण, मानव संशाधनको विकास र लगानीका सम्भावित क्षेत्र पहिचानका साथै दुई पक्षीय व्यापार विस्तारमा सहयोग हामी अनुरोध गर्दछौं ।”

केवलकारलगायतमा वैदेशिक लगानी ल्याउन सकिने उनको कथन थियो । धरान–भेडेटार, सुकेटार–पाथिभरा, हुक्ला–सगरमाथा बेसक्याम्प, घुर्मी–हलेसीमा केवलकार सञ्चालन गर्न सकिने घिमिरेले बताए । “यी क्षेत्रमा केवलकार सञ्चालन गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको चाप अत्यधिक बढ्छ,” घिमिरेले भने “पूर्वमा लगानीका क्षेत्र प्रशस्त छन् ।”
व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रदर्शनीस्थल र धेरै क्षमता भएको अडिटोरियम निर्माणमा सहयोग पु-याउन आग्रह गरे । उनले दुबई जस्तो आर्थिक रुपमा सम्पन्न मुलुकले जलविद्युतमा लगानी गर्दा उपयुक्त हुने सुझाए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले सूचना प्रविधि, हस्पिटेलिटीका साथै स्वास्थ्य शिक्षाका क्षेत्रमा विश्वविद्यालय अरब इमिराटससँग सहकार्य गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष राकेश सुरानालगायतले पर्यटन, ऊर्जा र सूचना प्रविधिमा लगानी गर्न राजदूतसँग आग्रह गरे ।
राजदूत नक्वीले नेपाल र दुबईबीचको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण रहेको चर्चा गर्दै आफ्ना उत्पादनलाई ब्राण्डिङ गरी उच्चस्तरीय उत्पादन गरी अरबमा निर्यात गर्न सुझाव दिए । अरबको बजारमा ठूलो नेपाली श्रमशक्ति रहेको बताउँदै उनले चाउचाउ, विस्कुटलगायतका सामान खपत हुने बताए । उनले खानेपानीको बजार पनि अरबमा प्रशस्त रहेको चर्चा गरे । कार्यक्रममा मुस्लिम आयोग नेपालका अध्यक्ष समिम मिया अन्सारीको समेत सहभागिता थियो ।