कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
547

म्याग्दी-बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ वर्षदेखि व्यवसाय कर उठेका छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको बेवास्ताका कारण बजारबासीबाट व्यवसाय कर नउठेको हो ।
सदरमुकाम केन्द्रित व्यवसायीको कर उठाउन नगरपालिका र म्याग्दी उद्योग वाण्ज्यि संघको समन्वयमा ५ वर्षसम्म उठाउने सम्झौता भएको थियो । सो सम्झौता अनुसार साढे २ वर्षदेखि दुवै पक्षको वेवास्ताका कारण बजारका व्यवसायीबाट कर नउठेको बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

५ वर्षसम्म बेनी नगरपालिकाको कर्मचारी सहयोग तथा उद्योग वाणिज्य संघको समन्वयमा व्यवसायकर उठाएवापत ३५ प्रतिशत संघलाई ६५ प्रतिशत नगरपालिकालाई भन्ने सम्झौता भएको थियो । नगरपालिकाले वडालाई जिम्मा दिएको छ । तर ७ र ८ वडाका वडा अध्यक्षले व्यवसायकर उठाएको छैनन् । अन्य वडाबाट भने व्यवसाय कर संकलन हुँदै आएको छ भने सदरमुकाम केन्द्रित व्यवसायीबाट सो कर नउठेको कार्यपालिकाको लेखा शाखाले जानकारी दिए ।
‘व्यवसाय कर उठाउने सम्बन्धी नगरपालिकासँग सम्झौता भएको हो’ उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्यले भने, ‘तर पालिकाले कर्मचारी परिचालन नगरेपछि संघले कुन आधारमा उठाउने भन्ने अन्योल भयो ।’ नगरपालिकासँग व्यवासायीक कर उठाउने सम्बन्धी समन्वय गरेपनि कर्मचारी अभाव देखाउने गरेको बताए ।
नगरपालिकाको आन्तरिक कमजोरीले व्यवासाय कर नउठेको मेयर हरिकुमार श्रेष्ठले बताए । कार्यपालिकामा प्रमुख प्रशासकीय प्रमुखको स्थायित्व नहुनु, घर नम्बर निर्धारण नहुनु र वैज्ञानिक तवरबाट व्यवसाय सञ्चालन नहुनु र सम्झौतामा दुवै पक्षले बेवास्ताका कारण कर नउठेको मेयर श्रेष्ठले बताए । उनका अनुसार बिगतको सम्झौता अनुसार काम नभएपनि बजारको घर नम्बर कायम गर्ने र स्थायी रुपमा कार्यपालिकाको छलफलबाट कर उठाउने निर्णय गर्ने जानकारी दिए ।
बजारमा सवारी साधन विक्रेता, डिलर विद्युतीय सामानको बिक्रेता, हार्डवयर, सुन पसल, दैनिक उपभोग्य सामान, फलफूल तथा तरकारी, फेन्सी, पेटे«ाल, पुस्तक पसललगायत रहेका छन् । बेनी बजार नगरपालिकाको मात्र नभएर जिल्लाको व्यवसाय तथा बैकिङ्ग क्षेत्रको केन्द्र पनि हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा व्यवासाय कर नउठाए कहाँ उठाउने । जनप्रनिधि तथा कर्मचारीले कर प्रति किन वेवास्ता गरियो । कार्यपालिकाले कुन व्यवसायको कति उठाउने भनेर दररेट पनि कायम गरेको छ । तर, उक्त निर्णय कार्यान्वयन भने भएको छैन् ।
नगपालिकाले कर तिर्ने सम्बन्धी सूचना प्रशारण तथा प्रकाशन नगर्नु, उठाउने कर्मचारी परिचालन नगर्ने र व्यसायलाई व्यवस्थित बनाउन नगर प्रहरी परिचालन तथा कर्मचारी नखटाएका कारण व्यवसाय कर नउठेको व्यापारीहरुको गुनासो छ ।
नगरपालिकाको गत आर्थिक वर्ष २ करोड ३ लाख ५० हजार ५१४ रुपैयाँ राजश्व संकलन गरेको थियो । जसमध्ये व्यवसायी करबापत ५ लाख ३९ हजार ८५० रुपैयाँ कर उठाएको छ । सो कर सदरमुकामको ७ र ८ वडाबाहेक अन्य वडाबाट उठेर आएको व्यवसाय कर हो ।
सो कर सार्वजनिक जग्गा बहाल, सिफारिस दस्तुर, सम्पति, घर बहाल, फोहोर, नदीजन्य पदार्थ र तातोपानी कुण्डलगायतको क्षेत्रबाट उठेको हो ।

धिरन खत्री