सागर परियार
मंगलबार, भदौ ३, २०७६
742

सुनको मूल्य उकालो लाग्दै गएपछि व्यापार भने ओरालो झर्दै गएको व्यवसायीहरू बताउँछन् । तीजको बेला सुनचाँदी व्यापारको सिजनै भएपनि महँगीले व्यापार शून्यमा झरेको सुनचादि व्यवसायी महासंघ शाखा जुम्लाले जनाएको छ । जुम्लामा झण्डै डेढ दर्जन सुनचाँदी पसल छन् ।
यसमध्य पनि लाखौको कारोबार हुने चन्दननाथ सुनचाँदी पसल, विष्ण्ुा सुनचाँदी पसल, न्यु विवेक सुनचाँदी लगायतका पसलहरूमा सुन महँगिए संगै व्यापार शून्य भएको पाइएको छ । गत वर्ष तीजकै समयमा करोडौ व्यापार गरेका सुनचाँदी व्यवसायीले यो वर्ष सुन व्यापारकै सिजनमा घाटा खानु परेको चन्दननाथ सुनचाँदी पसलका सञ्चालकक गोरखबहादुर सुनारले बताए । उनका अनुसार पहिला दिनमा मात्रै ७ लाख बढी सुनको कारोबार हुन्थ्यो ।

सुनको मूल्य बढेसँगै दिनको अहिले २०-३० हजार कारोबार पुग्न पनि धौधौ छ । भदौमा तीजको चहलपहले सुनको व्यापार बढ्थ्यो तर यसपाली सुनसान भएको उल्लेख गरे । गत वर्ष तीज लक्षित गरी भदौमा मात्रै झण्डै ५० लाख बढीको कारोबार भएको सुनारको भनाई छ । यता, विष्णु सुनचाँदी पसलका सञ्चालक विष्णु बहादुर सुनारको पनि भनाई उस्तै छ । दैनिक सयौको भिड हुने पसलमा अहिले बाटो विराएजस्तै गरी ग्राहक आउँछन् ।
दैनिक २ देखि ३ लाखको व्यापार हुन्थ्यो अहिले शून्यमा झरेको बताए । प्रतितोला अहिले ७१ हजार छ । ५-६ सय घट्दैमा व्यापारमा कुनै घटबढ नहुने अर्का सुनचाँदी व्यवसायी विशाल सुनारले बताए । तर जुम्लामा प्रतितोला सुनको ७३ हजार छ । अहिले पाँच सय घटेपनि सानो गहना किन्न आउने ग्राहक पनि पुरै बार्गेनिङ गर्छन् । व्यापार सुन्य छ । तीजकै बेला सुनचाँदीको व्यापार नभए झिंगा हानेर बस्नुको विकल्प नरहेको व्यवसायी सुनारको भनाइ छ ।
तीजकै कारण पसल खोल्छौं
सुनको व्यापार शून्य छ । महँगी बढेकोबढ्यै छ, तर पनि तीज आएकोले पसल खोल्ने निउँ मात्र भएको विष्णुबहादुर सुनारले बताए । तीजकै कारण दिनमा २०-२५ हजार कमाई भएको छ । नत्र भने ताल्चा लगाउनुको विकल्प थिएन । तैपनि आउने ग्राहकले सानो गहना किन्दा महँगीले बार्गेनिङ गर्छन् घाटा खाएर पनि विक्री गर्नुपर्ने बाध्यता रहेको छ ।
यसपालिको तीजमा महँगीका कारण सुनको व्यापार पूरै ओरालो लाग्ने उनको भनाइ छ । जुम्लामा रहेका १७ वटा सुनचाँदी पसलहरू मध्य केही बन्द गरिएका छन् । मगलसुत्र, तिलहरी, सूर्य, झुम्का, जुलीलगायतका गहना बनाएका छौं, तर व्यापार नहुँदा सफा गर्दै राख्ने काममात्रै भएको गोर्ख सुनारले बताए ।