कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
490

गाउँपालिकाले राजस्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजस्व संकलन हुन नसक्दा लक्ष्यअनुरूप राजस्व संकलन हुन सकेन ।

रुकुमपूर्व- जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको हो । ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले ७५ लाख ६ हजार ६०० राजस्व संकलन गरेको जनाएको छ ।
गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजस्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिइन् । गाउँपालिकाका विभिन्न वडाबाट गरी ३७ लाख ५ हजार ८० संकलन भएको छ । गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजस्व संकलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजस्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षमा बढाएर ७८ लाख राजस्व संकलन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिए ।
गतवर्ष सङ्कलित राजस्वलाई हेरेर चालू आर्थिक वर्षको लक्ष्य तय गरिएको उनको भनाइ छ । गाउँपालिकाले बर्षेनि राजस्व संकलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा १८ लाख ३० हजार २९४ राजस्व संकलन गरेको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको पाइएको हो । एक करोड ८ लाख राजस्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा ४५ लाख मात्र राजस्व संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले राजस्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजस्व संकलन हुन नसक्दा लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए ।

गत वर्षमा लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेपछि चालू आर्थिक वर्षमा गाउँपालिकाले राजस्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजस्वको स्रोतबाट हटाउँदै ५० लाखको मात्र लक्ष लिएको छ ।
त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५-७६ मा ४५ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४३ लाख ५३ हजार राजस्व संकलन गर्न सफल भएको छ । गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजस्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजस्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बढाएर राजस्व ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । कर प्रणालीमा सुधार गर्न सकेमा चालू आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।
यतिमात्र नभएर चालू आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजस्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।