कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
599

इलाम : नेपालबाट निर्यात गरिने चिया परीक्षणमा झन्झट हुने गरेको छ । नेपाली ‘ट्रेडमार्क’ मा भारत जाने चियामा सिमानादेखि नै झन्झट सुरु हुने गरेको व्यवसायीहरूको भनाइ छ । भारतले नेपालको तयारी चियाको गुणस्तर परीक्षणका क्रममा झन्झट दिइरहेको भन्दै व्यवसायीहरूले यसका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन् । नेपालको तयारी चिया ८० प्रतिशत भारत निर्यात हुने गरेको छ, तर भारतले आफ्नो देशमा उत्पादित चियालाई प्रवद्र्धन गर्न पनि नेपालको चिया निर्यात गर्दा व्यवसायीहरूसँग विभिन्न बहाना बनाउने गरेको बताउँदै आएका छन् ।
व्यवसायी मोतीराम दाहालका अनुसार भारतमा चिया पठाउने पर्ने बाध्यता रहेको बताए । उनले भारतका व्यापारीहरूले चिया खरिद गर्ने गरे पनि उनीहरूकै मूल्यमा आफ्नो चिया दिनुपरेको बताए । भारतबाट पनि चिया बाहिर निर्यात हुन्छ । विश्व बजारमा चिया निर्यात गर्नकै लागि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । लोगो सार्वजनिक भए पनि नेपालका ठुला र पहुँचवाला व्यवसायीहरूले मात्र यसको फाइदा उठाउने गरेको जिल्लाका केही चिया व्यवसायीहरूको भनाइ छ । भारत निकासी गरेको चिया त्यहाँबाट बाहिर निर्यात गर्दा अझै पनि नेपालको चिया भारतकै लोगो लगाएर विश्व बजारमा पुग्ने गरेको उनीहरू बताउँछन् ।

पहाडी जिल्लामा उत्पादित अग्र्यानिक चियाको समेत खासै वास्ता नहुने गरेको भन्दै उनीहरूले यसमा सम्बन्धित निकायले सोच्न आवश्यक रहेको बताएका छन् । भारतको कोलकाता भएर नेपाली चिया त्यहाँको बजार पुग्ने गरेको छ । तर, भारतीय पक्षले नै यसको फाइदा उठाउने गरेको चिया व्यवसायी मोतीराम दाहालले बताए । पाथीभरा चिया प्रशोधन उद्योगका सञ्चालकसमेत रहेका उनले चियाले लगानीअनुसारको मूल्य लिन नसकेको बताए । हाल एक किलो सामान्य तयारी चिया उत्पादन गर्न ४ सय ५० लाग्ने गरेको छ । भारतिय व्यापारीले प्रतिकिलो २ सय ५० देखि ३ सयमा मात्र खरिद गर्ने गरेको उनले बताए । उनले भने, “कारखाना खोलिगैयो उत्पादन भएको चिया फ्याँक्न नसकेर मात्र त्यो मूल्यमा बिक्री गरिरहनुपरेको छ ।” उनले विगत वर्ष बाहिरबाट समेत चिया खरिद गरेर प्रशोधन गर्ने गरेको बताउँदै यस वर्ष हरियो पत्ती चिया संकलन वास्ता नगरेको बताए ।
उनका अनुसार गएको वर्ष हरियो पत्ती चिया खरिद गरेर प्रशोधन गरेर भारत निर्यात गर्दा ३२ लाख घाटा ब्यहोर्नुपरेको वताए । उनले अब हरियो चिया संकलन गरेर तयारी बनाएर भारत निर्यात गर्न नसकिने समेत बताए । नेपाल सरकारले हाल पनि नेपाली व्यापारी र व्यवसायीलाइ उकास्ने खालको कुनै काम गर्न नसकेको आरोप लगाए । कसरी राजस्व संकलन गर्न सकिन्छ भन्नेमा मात्र सरकार लागेको भन्दै व्यवसायीका गुनासासमेत सम्बोधन गर्न सरकार लाग्नुपर्ने उनको मात्र छ ।
नेपाली व्यवसायीले आफ्नो कारखानाको उत्पादन भारतीय बजारमा पु¥याउँदा सेन्ट्रल ट्रेड ल्याब (सीएफएल) अनिवार्य गराउनुपर्ने प्रावधान छ । हरेक ६ महिनामा प्रत्येक कारखानाले आफ्नो उत्पादनको जाँच गराउनुपर्ने प्रावधान छ ।
एउटा नमुना परीक्षणको रिपोर्ट आउन १२ देखि १५ दिनसम्म कुर्नुपर्छ । ‘लोड’ भएको गाडी राख्न पनि भारत तर्फको पानीट्यांकीमा १५ सय भारतीय रुपैयाँ तिर्नुपर्दा खर्च अत्याधिक बढेको व्यवसायीको भनाइ छ । सीएफएलबाहेक पछिल्लो समय व्यवसायीले ‘अनलाइन सिस्टम’को पनि झमेला बेहोर्नुपरेको गुनासो गर्दै आएका छन् । नेपालको सीमा पार गरेपछि पानीट्यांकी नाकामा अनलाइन प्रणालीको झन्झट बेहोर्दा करिब एक साता लाग्ने गरेको व्यवसायीहरू वताउँछन् । यसले समेत दिन गाडी रोकिँदा व्यवसायी मारमा परेको उनीहरू वताउँछन् ।
अग्र्यानिक प्रमाणित चिया नेपालबाट युरोपियन मुलुक निर्यात हुने गरेको छ । पूर्वी पहाडी जिल्लाबाट निर्यात गर्ने द्वार भनेकै झापाको काँकरभित्ता हो । यहाँ धेरै झन्झट हुने गरेकाले सरकारी क्षेत्रबाट कुनै सुनुवाइ हुन नसकेको उनीहरू बताउँछन् । यहाँ उत्पादित चिया ८० प्रतिशत भारत जाने गरेको छ भने १० प्रतिशत युरोपियन मुलुक र १० प्रतिशत नेपालमा नै खपत हुने गरेको देखिन्छ । - टीका खतिवडा