कारोबार संवाददाता
आइतवार, श्रावण ५, २०७६
1728

५२ गाईलाई १० लाख भत्ता वितरण, आगामी वर्ष ४० लाख विनियोजन

ताप्लेजुङको सिदिङ्मा गाउँपालिकाले गाईको सुत्केरी भत्ता वापत कृषकलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा ५२ वटा गाईको सुत्केरी भत्ता प्रदान गरिएको हो । प्रत्येक गाईधनीलाई जनही २० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । “५ हजार औषधिउपचार र १५ हजार गोठ सुधार गर्न दिएका हौं,” अध्यक्ष कडरियाले भने, “भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो ।”
अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गतवर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले नै प्रदान गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए । गाउँपालिकाभित्रका ७ वटै वडाका कृषक कार्यक्रममा लाभान्वित छन् । भत्ता प्राप्त गर्न कम्तिमा २ वटा गाई वा भैंसी पालेको हुनुपर्ने, सुधारिएको गोठ हुनुपर्ने र घाँस व्यवस्थापन गरिएको हुनुपर्ने प्रावधान छ । प्रत्येक गाई वा भैंसीको कम्तीमा दैनिक ७ लिटर दूध हुनुपर्ने प्रावधान राखिएको हो । उपाध्यक्ष ताम्लिङले भने, “२ वटा साधारण गाई-भैंसी देखाएर भत्ता लिए उद्देश्य पुरा हुँदैन । त्यसैले सोचविचार गरेर प्रावधान बनाएका हौं ।”

गाउँपालिका–५ लिम्बुदिनका वडाअध्यक्ष तेजेन्द्र लिम्बूले आफ्नो वडामा डेरी सञ्चालनका लागि पनि अनुदान दिएको बताए । २ वटा डेरीका लागि ५०-५० हजार रुपैयाँ अनुदान दिइएको हो । वडा नं. २ को सादेवा र ३ को आँखोपमा गतवर्ष नै डेरी स्थापना गरिएको छ । गाईको सुत्केरी भत्ता लिएकी वडा नं. ५ की मनुका लिम्बूले कृषि र पशुपालनमा गरिएको लगानीले निरन्तरता पाउनुपर्ने बताइन् । एक गाई र एक भैंसी पालेकी लिम्बुले भनिन्, “भत्ताले गाउँपालिकाप्रति कृषकलाई अपनत्वको भावना जागृत गराएको छ । कृषि र कृषकमुखी बजेट आए व्यक्ति, परिवार र गाउँपालिकाकै समृद्धि हुन्छ ।”
कार्यक्रम प्रभावकारी भएको औल्याउँदै आगामी आर्थिक वर्षमा ४० लाख विनियोजन गरिएको अध्यक्ष कडरियाले बताए । यद्यपी विगतभन्दा ठूलो रकम भएकाले छनोट, वितरण, अनुगमन र उपलब्धिप्रति गाउँपालिका सजक रहेको उनले बताए । दुग्धजन्य पदार्थसँगै उन्नत जातका गाईका बाछा-बाछी र भैंसीका पाडा-पाडी र मासु निर्यात गरी पशुपालन व्यवसायलाई आम्दानीसँग जोड्ने पालिकाले स्प्रष्ट कार्ययोजना बनाएको छ । गाउँपालिका सवै वडा पालिका केन्द्र साब्लाखुसँग कच्ची सडकले जोडिएको छ । हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे सडक स्तरोन्नति गरे मात्र पालिकाभित्रका उत्पादित सामग्री निर्यात सम्भव हुने भएकाले सडक लगानीलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको ७ वटै वडा उर्वर जमिन र पशुपालनका लागि अनुकूल हावापानी भएको मानिन्छ । पशुपालन, कृषि र पर्यटनलाई गाउँपालिकाले प्रतिष्ठाको विषय बनाएको छ ।

देवराज गुरुङ