कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
651

सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको हो ।
सरकारले २०७३ साल जेठ २५ गतेको सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो । नयाँ सूचीअनुसार विदेशबाट ल्याउने सामानहरूमा लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एकरएक थान, सात किलोसम्म खाद्य, एक लिटरसम्म मदिरा लगायत समानमा पूर्ण भन्सार छूट हुने जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार ऐन २०६४ को प्रावधानअनुसार यस्तो सूची सार्वजनिक गर्ने प्रचलन छ । बजेटबाट सरकारले विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।
नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था गरेको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुने भएको छ । सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।