लक्ष्मण ढुंगाना
बुधवार, श्रावण १, २०७६
224

सर्वोच्चको आदेश कार्यान्वयन भएन

बाँके-केही दिनअघिसम्म विषादी परीक्षणपछि मात्र अयात हुने गरेको तरकारी तथा फलफूल हाल परीक्षणविनै आउन थालेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि नेपालगन्ज भन्सार कार्यालयमा त्यसको पालना गरिएको छैन ।
सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने उल्लेख गरेको थियो । त्यसपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परिपत्र गरेको थियो । विभागको परिपत्रका आधारमा नेपालगन्ज भन्सारले नाकामा भारतबाट आयातित तरकारी परीक्षण बिना पैठारीमा रोक लगाइएको थियो । तर, आवश्यक तयारी विनै परीक्षण सुरु गरेकाले निकै सास्ती भएको भन्दै आलोचना भएपछि सरकारले आवश्यक तयारीपछि परीक्षण सुरु गर्ने बताउँदै असार १८ गते हाललाई परीक्षण विना नै तरकारी आउन दिने निर्णय गरेको थियो ।

संघीय सरकारले परीक्षण विना नै फलफूल तथा तरकारी आयात गर्न दिए पनि प्रदेश सरकारले नियमित रूपमा चेकजाँच गर्ने बताएको थियो । त्यसयता केही दिन चेकजाँच पुनः सुरु गरे पनि आवश्यक जनशक्तिको अभाव देखाउँदै पुनः रोकिएको छ ।
विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो । असार २४ गते सो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले परीक्षण विना तरकारी आउन दिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । त्यसयता सर्वोच्चको आदेशको बेवास्ता गर्दै निर्वाध रूपमा भारत तथा तेस्रो मुलुकबाट फलफूल तथा तरकारी आयात भइरहेको छ ।
नेपालगञ्ज भन्सारका प्रमुख शान्तिराम निरौलाले सर्वोच्चको आदेशबारे विभागबाट कुनै परीपत्र नआएको बताए । “विभागले कुनै पत्र नपठाएका कारण हामीले गुणस्तर परीक्षण नगरी मालवाहकको जाँच पास दिने गरेका छौं,” उनले भने, “आधिकारिक पत्र आएपछि परीक्षण पुनः सुरु गर्छौं ।” नेपालगन्ज भन्सार भएर विभिन्न जिल्लाका लागि दैनिक १०-१५ वटा तरकारी तथा फलफूलका गाडी भित्रिने गरेका छन ।
विषादी परीक्षण विना नै तरकारी तथा फलफूल भित्रिन थालेपछि हाल परक्षणको जिम्मा पाएको विषादी द्रुत विश्लेषण एकाइ बन्द रहेको छ । असार २२ गतेसम्म परीक्षणका लागि भिडभाड हुने गरेको कार्यालय हाल परीक्षणका लागि कुनै नमुना प्राप्त नभएपछि सुनसान अवस्थामा छ । हाल परीक्षणका लागि नमूना लिएर कोही पनि नआउने गरेको विषादी द्रुत विश्लेषण एकाइका प्रमुख सकिल अहमदले बताए । एकाइले परीक्षण सुरु गरेयता तीन सातामा १ सय ५० वटा नमूना परीक्षण गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०७५-७६ को जेठ मसान्तसम्म नेपालगन्ज नाकाबाट २ अर्ब २३ करोड रूपैयाँबराबरको फलफूल र तरकारी आयात भएको छ । विषादी परीक्षण विनै तरकारी आयात हुन थालेपछि उपभोक्ता भने त्रसित बनेका छन् ।