मनिषा चम्लागाईँ
बिहिवार, असार २६, २०७६
599

सुपर जोन कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि ६ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भइसकेको छ ।

झापाभर धान सुपर जोन कार्यक्रम विस्तार हुने भएको छ । झापाको कचनकवल गाउँपालिकामा सञ्चालित धान सुपर जोन कार्यक्रम जिल्लाभर विस्तार हुने भएको हो ।
झापाका १५ वटै स्थानीय तहमा आगामी आर्थिक वर्षदेखि धान सुपर जोन कार्यक्रम सञ्चालन हुन लागेको हो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका सबै तहमा सुपर जोन कार्यान्वयनका लागि बजेट विनियोजन गरिसकेको छ । तथ्यांकलार्ई हेर्ने हो भने मुलुकमै सबैभन्दा बढी धान उत्पादन झापामा हुने गर्दछ ।
झापामा उत्पादन हुने धान जिल्ला साथै देशभित्रै खपत गर्ने उद्देश्यले जिल्लाभर सुपर जोन विस्तार गरिएको सुपर जोन कार्यान्वयन इकाइ बनियानीका प्रमुख धनबहादुर थापाले बताए । सुपर जोन कार्यान्वयनमा आएसँगै वर्षमा एक बाली मात्र धान खेती गर्ने किसानले उक्त क्षेत्रमा तीन बालीसम्म धान खेती गर्न थालेका छन् । एक वर्षमा कम्तिमा दुई बाली धान खेती गर्ने गरी किसानलाई सहयोग गर्न स्थानीयको पहलमा सुपर जोन जिल्लाभरी विस्तार गर्न लागेको वरिष्ठ कृषि अधिकृत थापाले जानकारी दिए । झापामा यो वर्ष धान खेतीका लागि ८८ हजार हेक्टर जमिन रहेको छ । सुपर जोन कार्यक्रमका लागि कचनकवल बाहेक १४ स्थानीय तहले २ सय हेक्टर जमिन तयार गर्नुपर्ने छ ।
सुपर जोन कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि ६ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भइसकेको छ । चक्लाबन्दी खेतीलाई प्रवद्र्धन गर्ने गरी स्थानीय तहले निर्धारण गर्ने दुई सय हेक्टर जमिनमा सुपर जोन कार्यान्वयन गर्ने नियम रहेको थापाको भनाइ छ । धान सुपर जोन विस्तार भएपछि जिल्लाका किसानले कष्टम हायरिङ, पोष्ट हार्भेष्ट, साना सिँचाइ, सौर्य सिँचाइ, प्राविधिक सहयोग, धान रोप्ने, मल छर्ने, धान गोड्ने, धान काट्ने मेसिन, ट्याक्टर, माटो सुधारलगायतका विभिन्न उपकरण तथा सामग्री ५० प्रतिशत अनुदानमा प्राप्त गर्नेछन् ।
जिल्लामा धानसँगै मकै, सुपारी र रबर जोन सञ्चालनका लागि एउटा मात्र सञ्चालन समिति बनाइने बताइएको छ । उक्त समिति मातहत रहने गरी प्रत्येक बाली विशेषज्ञलाई समेटेर समिति निर्माण गरिने कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालीकग्राम भट्टराईले जानकारी दिए । कचनकवलमा सुपर जोन कार्यान्वयनपछि जिल्लाको धानको उत्पादकत्व वृद्धि भएको छ । गत वर्ष ४.८ मेट्रिक टन धान उत्पादकत्व रहेकोमा यो वर्ष प्रतिहेक्टर ६.१३६ मेट्रिक टन पुगेको छ । जिल्लामा बर्षे धान ८७ हजार ५ सय हेक्टरमा तथा चैते धान २५ हजार हेक्टरमा लगाउने गरिएको सुपर जोन कार्यालयले जनाएको छ । जिल्लामा धानसँगै सुपारी र रबर जोन कार्यक्रम पनि सञ्चालनमा रहेका छन् । सुपारी र रबर खेतीका लागि आगामी वर्ष १ करोड २५ लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ ।

यस वर्षदेखि मकै जोन
झापामा आगामी आर्थिक वर्षदेखि मकै जोन कार्यक्रम पनि सञ्चालनमा आउने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित उक्त जोन कनकाई नगरपालिका र झापा गाउँपालिकामा सञ्चालनमा आउने ज्ञान केन्द्र प्रमुख भट्टराईले बताए ।
मकै जोन सञ्चालनमा लागि १ करोड २५ लाख रूपैयाँ बजेट विनियोजन भइसकेको स्रोतले बताएको छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाउँछ । झापाको कनकाई नगरपालिका र झापा गाउँपालिका मकैको उत्पादनका दृष्टिले उर्बर मानिएको छ । मकै जोन सञ्चालनमा आएपछि उन्नत जातको मकै उत्पादन, समूहमा मकै खेती गर्नेलाई प्रोत्साहन, मकै भण्डारण केन्द्र निर्माण गरिने बताइएकोे छ । झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।