कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
520

मानो रोपेर मुरी फलाउने किसानका पीडा

सिन्धुपाल्चोक-अघिल्ला वर्षहरुमा असार पहिलो सातामै रोपाईं सक्ने गरेका मेलम्ची नगरपालिका ९ ज्यामिरेका शिवराम विष्टले अझै आफ्नो खेत हिल्याउन पाएका छैनन् । असार आधाबाट आफ्नो सकेर अरुको पर्ममा लाग्ने विष्टले पानी र मल अभावकै कारण रोपाई सुरु गर्न नपाएका हुन् ।
मानो रोपेर मुरी उब्जाउने लक्ष्य राखेर खेतको हिलोमा रमाउने विष्ट मात्रै हैनन् जिल्लाका अधिकांश किसानले अहिले रोपाईं गर्न पाएका छैनन् । समयमै राखेको धानका विऊ बढेर ठूलो भइसक्दा पनि पानी र मलको अभाव झेलिरहेका किसानहरुलाई समस्याले गिजोलेको हो ।

“असार अन्तिम लागिसक्यो, अझै रोपाई गर्न सकिएन,” अध्य असारमा पनि फुर्सदिला रहेका शिवरामले भने, “खेतमा पानी छैन, बजारमा मल ।” उनले हल्का पानी पर्दासमेत सामान्य मुल खुल्दा आफूले रोपाईं अघिल्लो वर्ष असार दोस्रो सातामै सकेको बताए । “अहिले दिनहुँ आकाश हेर्नुपर्छ, पानी पर्ने संकेत देखियो भने पनि मलको चिन्ता रोपाईंका लागि अर्काे बाधा बनेर आउँछ,” उनले भने ।
जिल्लामा पानी हल्का मात्रै पर्ने गरेको छ । अहिले परेको पानीले राम्रोसँग माटो पनि भिज्दैन । पर्याप्त पानी नपरेका कारण पानीको मुल खुल्न नसक्दा किसानहरु चिन्तित बनेका हुन् । “अहिले सबै गाउँवासी धान रोपाईं गर्दै खेतमा व्यस्त रहने समय हो,” धान उत्पादनका हिसाबले अब्बल मानिएको जलवीरस्थित ब्रम्हायणी करिडोरका कृष्णकुमार थापा भन्छन्, “पानी भए पनि रोपाइँका लागि आवश्यक पर्ने मल बजारमा नपाउँदा समस्या भइरहेको छ ।” मल पाइएमा अस्थायी सिँचाइ गरेर भएपनि रोपाईं गर्ने बताउँदै उनले किसानको समस्याप्रति सरोकारवाला संवेदनशील हुनुपर्नेमा जोड दिए ।
धान रोप्नुअघि किसानले खेत हिल्याउने बेला युरिया र डीएपी मल हाल्ने गर्छन् । धान रोपिसकेपछि युरिया र पोटास मल हाल्ने गरिन्छ । रासायनिक मल एक पटक हालेपछि वर्षेनी सन्तुलन मिलाएर हाल्नैपर्ने हुन्छ । तर, गाउँवासीले मल नपाउँदा अहिले जिल्लामा रोपाईं हुन नसकेको हो । किसानलाई आवश्यक पर्ने मल नहुँदा रोपाई हुन नसकेको मेलम्ची नगरपालिका कार्यालय कृषि हाखाका प्राविधिक सहायक टीकाप्रसाद काफ्ले बताउँछन् । “पानी पनि परेको छैन, किसानले मल पनि नपाउँदा अपेक्षाकृत रोपाईं हुन नसकेको हो,” काफ्ले भन्छन्, “नगरपालिकाबाट ६ वटा कृषि सहकारीले मल वितरण गर्ने अनुमति लिएका छन्, तर उनीहरुले अहिले के गरिरहेका छन् भन्ने हामीलाई अपडेट गराएका छैनन् ।” उनले मेलम्चीमा र्भर्खर २० प्रतिशत रोपाई भएको जानकारी दिए ।
सम्बन्धित स्थानीय तहबाट कृषि सम्बन्धी सहकारीहरुले मल वितरण गर्ने इजाजत लिन्छन् । त्यसलाई मकै जोनले सिफारिस दिने गर्दछ । सहकारीले काभ्रेमा रहेको कृषि ज्ञान केन्द्रबाट मल ल्याउनुपर्ने सम्बन्धित स्थानीय तह अन्तर्गत रहेको कृषि शाखाले जनाएको छ । “मल किन्न सजिलो छैन । गाउँबाट आएकालाई चाहिने मल दिँदैनन् । मल नपाएपछि कसरी धान रोप्नु ?, “किसानहरु प्रतिप्रश्न गर्छन्, “एकातिर धान रोप्ने पानी परेको छैन अर्का्तिर मल पाईंदैन ।”
आकासे पानीको भर पर्नुपर्ने किसानहरुले रोपाईंको आश मारिसकेका छन् । पानी परेर मुल खुलिहाले पनि उनीहरु आफूले मल नपाउनेमा ढुक्कजस्तै भएकाले यो वर्ष रोपाईं गर्न नसकिने भन्नेमा छन् । मल अभावकै कारण खोलाको पानी लाग्ने जग्गामासमेत रोपाईं हुन सकेको छैन । जुगल गाउँपालिका कार्यालय कृषि शाखाका प्राविधिक सहायक लालबहादुर वयकले बजारमा मल नआएका कारण किसानलाई समस्या भइरहेको सुनाए । “मल नआएपनि हाम्रो भेगमा पानी लाग्ने ठाउँमा रोपाई भने भइरहेको छ,” उनले भने, “मल पाइने र पानी पर्ने आशमा रहेका किसानहरु मकै भाँच्ने काममा व्यस्त छन् ।” उनले आफ्नो गाउँपालिकामा करिब ४० प्रतिशत रोपाई भइसकेको दाबी गरे ।
जिल्लाको अन्य स्थानीय तहसँगै पानी लाग्ने इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकामासमेत अपेक्षाकृत रोपाईं हुन सकेको छैन । इन्द्रावतीका कृषि शाखाका सहायक प्राविधिक अमरनाथ आचार्यले खाृला किनारमा मात्रै रोपाई चलेको बताए । “अघिल्लो वर्ष यो समयमा झण्डै ६० प्रतिशत रोपाई भएको थियो, यो वर्ष पानी र मलका कारण २५ प्रतिशतबाट बढ्न पाएको छैन ।” आकासे पानीमै निर्भर रहनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिका, लिसंखुपाखर गाउँपालिका, त्रिपुरा सुन्दरी, लिसंखुपाखर, सुनकोशी गाउँपालिकामा रोपाईंको रौनक नै छैन ।
तथ्यांकअनुसार जिल्लामा १२ हजार २ सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । सो मध्ये कुल धानीबाली लगाईने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान पनि लगाईन्छ । पर्याप्त पानी हुने हुँदा चैते धान लगाएका किसानहरुले पनि यो वर्षको बर्खे धान लगाउन व्यस्त छन् ।
अघिल्ला वर्षको तुलनामा यो वर्ष मल र पानीका कारण अधिकांश जमिन बाँझो रहने सम्भावना देखिएको छ । जिल्लामा प्रति हेक्टर औसत २.३३ मेट्रिक टन धान उत्पादन हुन्छ । तर, यो वर्ष रोपाईं भएपनि ढिला हुने र मलका साथै पानी नभएकाले उत्पादनमा गिरावट आउन सक्ने देखिएको मेलम्चीका प्राविधिक सहायक टीकाप्रसाद काफ्लेको भनाई छ । जिल्लाका फाँटमा खुमलचार, मकवानपुरे–१ लगायत उन्नत जातका धान बीऊ लाग्दै आएको छ । स्थानीय जातका धान बीऊसमेत लाग्ने भएपनि उन्नत जातका बीऊले जमिन ढाक्दै गएको छ । तथ्याङ्कअनुसार जिल्लाको भीमटार, मांहाकाल, तिपेनी, जलबीर, बतासेलगायत मेलम्ची र इन्द्रावती करिडोरमा अन्य ठाउँको तुलनामा धान उत्पादन बढी हुने गरेको छ ।

किशोर बुढाथोकी