मनिषा चम्लागाईँ
बुधवार, असार २५, २०७६
562

झापा-जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको यो अवधिमा ७ करोड ६९ लाख ६८ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेका छन् । चालू आर्थिक वर्षमा झापा प्रहरीले ४ करोड १० लाख ५७ हजार ४६८ रुपैयाँ र ट्राफिक प्रहरीले ३ करोड ५९ लाख ११ हजार राजस्व संकलन गरेका हुन् ।
झापा प्रहरीले अघिल्लो आर्थिक वर्षमा २ करोड ९४ लाख १६ हजार ४५९ रुपैयाँ राजस्व संकलन गरेको थियो । यही वर्ष ट्राफिक प्रहरीले ४ करोड ६१ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको राजस्व संकलनलाई तुलना गर्दा ट्राफिक प्रहरीले झापा प्रहरीको भन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।

चालू आर्थिक वर्षमा भने ट्राफिक प्रहरीको राजस्व संकलनमा भारी गिरावट आएको देखिन्छ । यो वर्ष झापा प्रहरीको भन्दा ट्राफिक प्रहरीले १३ प्रतिशत कम राजस्व संकलन गरेको छ । झापा ट्राफिक प्रहरी प्रमुख होम अधिकारीले दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानमा सक्रिय भएका कारण राजस्व संकलनमा कमी आएका हुन सक्ने बताए । उनले चेकजाँचमा केही कमी गरिएको भन्दै विगतका वर्षको तुलनामा दुर्घटना घटेको समेत बताए । ट्राफिक प्रहरीले यस वर्ष ४७ हजार ७ सय सवारीमाथि कारबाही गरेको जनाएको छ ।
प्रहरीले भन्सार छली, चोरीनिकासी, पैठारी, जरिवानालगायतमा राजस्व संकलन गर्दै आएको छ । प्रहरीले चालू आर्थिक वर्षमा ६४ लाख २ हजार २१५ रुपैयाँ जरिवाना वापत संकलन गरेको छ । अदालतको कारबाही गर्ने आदेश पाए पनि फरार रहेका १७९ जना अभियुक्त पक्राउ गरी सो राजस्व संकलन गरेको झापा जिल्ला प्रहरी प्रमुख (एसपी) दिनेश मैनालीले बताए । सिमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणमा प्रहरीको सक्रियताका कारण राजस्व संकलन बढेको मैनालीले बताउँछन् । उनले चोरी पैठारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताए । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, चोरीका सवारीसाधन बरामद, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक र सवारीसाधनलाई कारबाही गरेर राजस्व संकलन गर्ने गरेको छ ।