कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
463

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति सत्तापक्षका सांसदहरूको असन्तुष्टि कायमै देखिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७६-०७७ को बजेटमा प्रतिपक्षी दलहरूलाई सहमतिमा ल्याएर प्रदेशसभा बैठक सञ्चालन गर्न सरकार सफल भए पनि आफ्नै सांसदहरूको भने चित्त बुझाउन नसकेको हो । बजेटको विरोधमा हस्ताक्षर संकलन गरी मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका सत्तापक्षीय सांसदले संसदीय दलको आग्रहलाई अस्वीकार गरेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बजेटको पक्षमा बोल्न गरेको आग्रहलाई अस्वीकार गर्दै सत्तापक्षीय सांसदहरूले बजेट प्रस्तुत भएको २२ औं दिनपछि सोमबार सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिएनन् । उनीहरूले प्रदेश सरकारको बजेटको सांकेतिक विरोधमा बजेटको पक्षमा बोल्न नमानेका हुन् ।

सत्तापक्षका कोही पनि सांसद बोल्न तयार नभएपछि प्रमुख सचेतक तामाङले बजेटमाथिको सामान्य छलफलमा आफैं बोल्न बाध्य भए । बजेटको समर्थन गर्न रोस्टममा उभिएका तामाङले प्रदेशसभाको २० मिनेट खर्चिएर प्रदेश सरकारलाई व्यंग्य गरे । उनले लोकप्रिय सरकारले ल्याएको लोकप्रिय बजेटभन्दा फ्लोरमा रहेका सांसदहरू हाँसेका थिए ।
प्रमुख सचेतक तामाङले सरकारले लोकप्रिय बजेट भनेकाले आफूले पनि लोकप्रिय बजेट भन्नुपरेको तर्क दिए । “एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको छ,” तामाङले भने, “सरकारले सुदूरपश्चिमबासीका चाहनालाई ध्यान दिएको छु भनेको छ, दिएको पनि होला, छ भनेर भन्नुपर्ने पनि छ ।”
उनले आफ्नो क्षेत्रमा बजेट नपारिएको भन्दै अरु सांसदको क्षेत्रमा पनि नपरेको बताए । “म आशावादी मान्छे हो पक्कै पनि बजेटलाई सन्तुलित बनाइन्छ होला भन्ने आशा छ,” उनले व्यंग्य गर्दै भने, “प्रतिपक्षले रातो किताव जलाउनु गलत हो । संसद्मै छलफल चलाएर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्छ ।”
उनले बजेटमा लालझाडी क्षेत्रलाई राना पर्यटकीय क्षेत्र बनाउनु पर्ने, पहिचान हुने खालका योजना समावेश गर्नुपर्ने सुझाव पनि दिए । प्रमुख सचेतक तामाङले बजेट परिणाममुखी बनाउन सरकारलाई आग्रह गरे ।
बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद टेकबहादुर रैकाले भद्र सहमतिपछि मात्रै आफूहरू संसद् सञ्चालन गर्न सहमत भएको चर्चा गर्दै धोका भए कुर्सी भाच्न पछि नपर्ने बताए । “कम्युनिष्टहरूले कुर्सी भाँच्न सिकाए,” उनले भने, “हामीले रातो किताव जलाउन सिकायौं ।”
सांसद् रैकाले प्रदेश सभाका २१ जना समानुपातिक सांसदमाथि विभेद नगर्न पनि आग्रह गरे । रैकाले बजेटमा कमजोरी भएको धारणा व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्रमा गएको योजनाको बारेमा आफूलाई नै थाहा नभएको बताए । उनले बजेटको बारेमा सबै सांसदहरूलाई जानकारी दिनुपर्ने माग गरे ।
कांग्रेसका अर्का सांसद श्यामलाल रानाले बजेट जनताले प्रत्यक्ष राहत पाउने गरेर विनियोजन नभएको बताए । उनले सरकारले बजेटमा कमजोरी भएको स्वीकारेकाले बजेट परिमार्जन हुनेमा आशावादी रहेको बताए ।
बजेटको पक्षमा सत्तापक्षीय सांसदहरू बोल्न नमानेको चर्चा भए पनि सत्तारुढ दल नेकपामा प्रदेश सांसद महेशदत्त जोशीले बजेटको समर्थन कांग्रेसले गरेकाले बजेट सर्वसम्मत भइसकेकाले आफूहरूले बोल्नुको कुनै अर्थ नरहेकाले सामान्य छलफलमा भाग नलिएको बताए । उनले बोल्नै पर्ने भए मंगलबारको बैठकमा बोल्ने जनाएका छन् ।

मुकेश चौधरी