कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
625

संखुवासभामा पछिल्लो समय बोटबाटै रुद्राक्ष चोरी हुने र राम्रा रुद्राक्ष फल्ने बोट नै ढाल्ने त्रास बढेपछि अहिले रुद्राक्ष कृषकले बगानमै सिसी क्यामरा जडान गर्न सुरु गरेका छन् । ।
गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पु-याउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । जिल्लाको सिलिचोङ गाउँपालिका ५ याफुको किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् । रुद्राक्ष चोरी र राम्रा बोटमा बिषादी हालेर मार्ने प्रवृत्ति बढेको भन्दै आफूले आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ । उनले २६ बोट रुद्राक्ष भएको बगानमा यस वर्ष तीन जना कुरुवासँगै सिसी क्यामरा जडान गरेको र कुरुवाले अब रुद्राक्ष र सिसी क्यामरा दुवैको सुरक्षा दिने भएकाले चोरीको सम्भावना न्यून भएको बताए ।

गत वर्ष याफु गाउँमा नै बहुमुल्य रुद्राक्ष फल्ने बोटमा अज्ञात समूहले आराले काटेर क्षति पु-याएपछि गाउँका अरु कृषकहरू पनि त्रसित बनेका छन् । करिब महिना दिनअघि मात्र पाँचखपन नगरपालिकाको स्याबुन गाउँमा पनि रुद्राक्षको जरामा विषादी हालेर क्षति पु-याइएको थियो ।
गुणस्तरीय रुद्राक्ष फल्ने यहाँका बगानहरूमा सुरक्षाका लागि प्रायः सवैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेका छन् । केहीले निश्चित समयको लागि लिखित सम्झौता गरेरै बोट नै ठेक्का लिएकाहरूले समेत कुरुवा राख्दै आएका छन् । संखुवासभाका अन्य क्षेत्र खाँदबारी, चेवावेसी, बाला सिसुवा, स्याबुन, धुपु र भोजपुर जिल्लाको पूर्वी भेग शाल्पा शिलिछों र षडानन्द नगरपालिका धेरै स्थानमा समेत रुद्राक्ष कृषकहरू सिसी क्यामेरातर्फ आकर्षित बनेका छन् । पहिले पहिले रुद्राक्ष फल्ने सिजन असारदेखि मंसिरसम्म मात्र कुरुवाले नै सबै सुरक्षा गर्ने गरेकोमा पछिल्ला केही वर्षदेखि वर्षैभरी रुद्राक्षको बोटको समेत सुरक्षा दिनुपर्ने भएकाले सिसी क्यामरा जडान गरिएको कृषकहरू बताउँछन् । षडानन्द नगरपालिकाका रामसिंह राईरुद्राक्षको बगानमा रातदिन नै पहरा दिनुपर्ने परिस्थिति निर्माण भएको बताउँछन् । राखेका कुरुवाले एकदिन मात्र अलिकति लापरबाही ग-यो भने बोट नै काटिदिने, विषादी लगाइदिने र रुखको बोक्रा नै उप्काइदिने घटना गाउँमा बढेकाले कुरुवालाई बढी पारिश्रमिक दिएर खटाउनुपर्ने बाध्यता छ ।
गोप्य ठाउँमा क्यामेरा जडान गरिएपछि कोही कसैले क्षति पु-याए कारबाही गर्न सहज हुने कृषक र व्यवसायीहरूको भनाइ छ । क्यामेरा राखेको हल्लाले नै ५० प्रतिशत चोरी हुने सम्भावना टर्ने गरेको उनीहरूको बुझाइ छ । सिसी क्यामरा राखेपछि रुद्राक्ष कुरुवालाई रुद्राक्ष भन्दा पनि क्यामराको हेरचाह बढी गर्न लगाइएको पाँचखपन ७ का कृषक विजय याक्खाले बताए ।
संखुवासभा र भोजपुरमा फल्ने रुद्राक्ष चीन र भारत दुवै देशमा निर्यात हुँदै आएको छ । मुखदार रुद्राक्ष भारततर्फ र थोरै मुख भएको तर आकारमा ठूलो, थेप्चो र चिल्लो रुद्राक्ष चीन निर्यात हुँदै आएको छ । मुखदारमध्ये २१ मुखे रुद्राक्ष प्रतिगोटा २० लाखदेखि ५० लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।
रुद्राक्ष व्यवसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्खेका अनुसार २१ मुखे रुद्राक्ष प्रतिगोटा ३० देखि ६० लाख रुपैयाँसम्ममा बिक्र भएको इतिहास छ । यस्तै थोरै मुख भएको चिल्लो थेप्चो आकार भएको ठूलो (२० एमएमभन्दा माथीको ) रुद्राक्ष प्रतिकेजी २० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । अरु साना (२० एमएमभन्दा कम) साइजका रुद्राक्ष गुणस्तर हेरी प्रतिकेजी ५० रुपैंयाँदेखि १ हजार रुपैंयाँसम्ममा बिक्री भइरहेको अध्यक्ष बिसुङ्खेको भनाइ छ । संखुवासभामा वार्षिक रूपमा करिब २ अर्ब बराबरको रुद्राक्षको कारोबार हुने बिसुङ्खेले जानकारी दिए ।

 कृष्णराज शाक्य