सुब्बा कार्की
शुक्रवार, असार १३, २०७६
495

रौतहट-संघीय सरकारले असार १० गतेभित्र सम्पूर्ण स्थानीय तहलाई नगरसभा तथा गाउसभा गर्न परिपत्र गरेको भए पनि रौतहटमा भने अझै ८ वटा नगरपालिकाको नगरसभा हुन सकेको छैन । १६ नगरपालिका र २ गाउँपालिकासहित १८ स्थानीय तह रहेको रौतहटमा १० वटा स्थानीय तहले मात्र असार १० गतेभित्र नगरसभा गरेको जिल्ला समन्वय समिति रौतहटका कार्यालय प्रमुख सागर रोक्काले जानकारी दिए ।
चन्द्रपुर, गौर, गरुडा नगरपालिकाले असार ९ गते नै नगरसभा सम्पन्न गरेका थिए । यस्तै मौलापुर, माधवनारायण, राजपुर, परोहा, देवाही गुनाही नगरपालिकाले १० गते नगरसभा गरेका थिए । यस्तै यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउपालिकाले पनि असार ९ गते नै गाउँसभा सम्पन्न गरेका थिए । बौधीमाइ, इशनाथ, फतुहा विजयपुर, गुजरा, वृन्दावन, गढीमाइ, कटहरिया र राजदेवी नगरपालिकाले भने अझै नगरसभा गर्न नसकेका हुन् । नगर परिषद् हुन बाँकी अधिकांश नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद रहँदै आएको छ ।

चन्द्रपुरको बजेट १ अर्ब २५ करोड प्रस्ताव
चन्द्रपुर नगरपालिकाको चौथो नगरसभाले १ अर्ब २५ करोड ५१ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ । चालूतर्फ ६८ करोड १ लाख र पुँजीगततर्फ ५७ करोड ५० लाख विनियोजन गरिएको चन्द्रपुर नगरपालिकाका प्रवक्ता गोविन्द दुलालले जानकारी दिए । रौतहटमा सवैभन्दा बढी बजेट चन्द्रपुर नगरपालिकाको छ । नगरपालिकाभित्रका अति विपन्न घर परिवारका ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क देवस्थल भ्रमणसमेत गराउने र ८५ वर्षमाथिका नागरिकलाई घर घरमा गएर सम्मान गर्ने नीति नगरपालिकाले लिएको छ । महिलाको व्यावसायिक समूह गठन गरी एक समूह एक व्यवसायलाई प्राथमिकता दिनेसमेत जनाइएको छ ।
यसैबीच चालू आर्थिक वर्षमा चन्द्रपुर नगरपालिकाको विभिन्न शीर्षकको २ करोड ३७ लाख ५५ हजार फ्रिज भएको छ । स्मार्ट सिटीसहितको कार्यक्रम रहेको यो नगरमा विकासले पछिल्लो समय फड्को मारेको स्थानीय सन्दिप आचार्यको भनाइ छ । अवको एक वर्षमा नगरपालिकाभित्रको सडक कालोपत्र भइसक्ने वडा नं. २ का वडाध्यक्ष दुत्तबहादुर थिङ (बुद्ध) ले बताए ।

मौलापुरमा ३० करोड ६८ लाख
मौलापुर नगरपालिकाको तेस्रो नगरसभाले ३० करोड ६८ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. ३ का सांसदसमेत रहेका प्रभु साहको गृह नगर मौलापुरको नगरसभाको उद्घाटन उनी आफैंले गरेका थिए । सांसद साहले अब नगरबासीले आफ्नो आनीबानीमा समेत परिर्वतन ल्याउनुपर्ने बताए ।

गौरका लागि ४५ करोड ५७ लाख
गौर नगरपालिकाको चौथो नगरसभाले ४५ करोड ५७ लाख १ हजारको आयव्ययको प्रस्ताव प्रस्तुत गरेको छ । नगर प्रमुख अजय गुप्ताले सो बजेट प्रस्ताव गरेका हुन् ।

गरुडाको बजेट ५५ करोड ४२ लाख
गरुडा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ४२ लाख ६७ हजार बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्दै नगरप्रमुख इनु राय यादवले ‘समृद्ध नगर ः खुशी नगरबासी’ ’को नारा तय गरिएको बताए । ‘मालिक होइन, सेवक हौं’’ भने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भने मान्यतालाई आफ्नो मार्गदर्शनका रूपमा ग्रहण गरेको उनले बताए ।