महादेव अवस्थी
शुक्रवार, असार १३, २०७६
358

भीमदत्तमा २५ वर्षे रणनीतिक योजना

कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौ नगरसभाबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब २२ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकोे छ । नगरपालिकाले नगरसभामा वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको हो । चालूतर्फ ८० करोड ३३ लाख र पुँजीगतमा ४२ करोड ४९ लाख विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट १३ करोड ३४ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले समृद्ध नगर बनाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । उनले भने, “यो नगरलाई समृद्ध, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ, त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।”
नगरपालिकाले नगरको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विकासका योजनाहरू निजी, साझेदारी, सहकारी र गैरसरकारी संस्था र नागरिक समाजसित सहकार्य सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले आफ्नो नगर आफंै बनाऔं भन्ने नाराका साथ जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाइ परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाको आन्तरिक राजस्व बढाउन आगामी वर्षदेखि प्रगतिशील कर प्रणाली लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजस्व वृद्धि गर्ने नीति लिइएको छ । महेन्द्रनगर सहरलाई नमुना सहर बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रूपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।
नगरपालिकाले आगामी वर्ष नगर क्षेत्रका एक सय युवालाई स्वरोजगार बनाउने भीमदत्त रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा युवाहरुको हात भीमदत्तको साथ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरणका लागि सम्भाव्यता अध्ययन गरी फार्म सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित सहकार्य गरिने नीति लिएको छ । यसै गरी एक वडा एक उत्पादन कार्यक्रम, भीमदत्त पन्त कृषि पुरस्कारलाई निरन्तनरता, किसानलाई उपकरण, नयाँ प्रविधि जडानलगायतका कार्यमा सहयोग गरिने कार्यक्रम समावेश गरिएको छ ।
भीमदत्त नगरपालिकाका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, प्रवद्र्धन गरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति लिइएको छ । महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन, भीम बाटिकाको स्तरोन्नति, भ्यू टावर निर्माण थालनी, साँस्कृतिक महोत्सव, होमस्टे सञ्चालनमा सहकार्य दिने कार्यक्रमलाई निरन्तनरता दिइएको छ । नगर चक्रपथ निर्माण हुने गरी शुक्लाफाँटा पर्यटन मार्ग निर्माणलाई निरन्तरता दिइएको छ ।