मीनकुमार नवोदित
शुक्रवार, असार १३, २०७६
490

विराटनगर-जीर्ण सडक मर्मतको माग राख्दै भारतीय सीमावर्ती बजार जोगबनीका स्थानीयले गरेको आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयलाई ४५ करोड नोक्सान भएको छ ।
सडक मर्मतको माग राखेर जोगबनीका स्थानीय आन्दोलित थिए । सडकमै धर्नामा बसेका आन्दोलनकारीका कारण मंगलबारदेखि आयात–निर्यात ठप्प भएको थियो । विराटनगर भन्सारले सरदरमा दैनिक १५ करोड राजस्व संकलन गर्दै आएको थियो । आयात निर्यात ठप्प हुँदा तीन दिनसम्म राजस्व संकलन नभएको भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीले बताए । “तीन दिनको बन्दले विराटनगर भन्सारलाई ४५ करोड नोक्सान भएको छ,” प्रमुख पौडेलले भने, “यसले कार्यालयको वार्षिक लक्ष्यलाई असर पुग्ने देखिन्छ ।” असारमा ४ अर्ब २५ करोड संकलन गर्ने कार्यालयको लक्ष्य छ । हालसम्म १ अर्ब १५ करोड रुपैयाँमात्रै संकलन भएको उनले बताए ।

मालबाहक सवारीका कारण सडक खाल्डाखुल्डी भएको भन्दै जोगबनीको नागरिक समाज र स्थानीय युवा समूहको नेतृत्वमा स्थानीय आन्दोलित भएका थिए । सडक नै अवरुद्ध पारेर उनीहरू दैनिक धर्नामा बस्दै आएका थिए । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, भन्सार कार्यालय, स्थानीय प्रशासनलगायतको पहलका कारण जोगबनी नगर पञ्चायत र सडक विभाग सडक मर्मत गर्न तयार भएका छन् । जीर्ण सडक तत्काल मर्मत गरिने भएपछि स्थानीयले आन्दोलनल फिर्ता लिएका छन् । स्थानीयले आन्दोलन फिर्ता लिएसँगै मालबाहक सवारी आवतजावत सुरु भएको भन्सार कार्यालयका प्रवक्ता मनिराम पौडेलले जानकारी दिए ।
सहमतिअनुसार सडक मर्मत नभए पुनः आन्दोलन सुरु हुने आन्दोलनको नेतृत्व गरेका नागरिक समाजका अगुवा भानुप्रकाश रायले बताए । “क्षमताभन्दा बढी वजनका मालबाहक सवारी सञ्चालन गरेकै कारण सडक जीर्ण भएको छ,” उनले भने, “खाल्डाखुल्डीका कारण हिंडिसक्नु छैन । बजार कुरूप भएको छ ।” यो नाका हुँदै दैनिक साढे ३ सयदेखि ४ सयसम्म मालबाहक सवारी आवतजावत गर्छन् । यो नाकाबाट मुख्य गरी पेट्रोलिमय पदार्थ, फलाम, प्लेट, प्लाष्टिकका दानालगायत औद्योगिक कच्चापदार्थ आयात हुने गरेको छ । “यो नाका औद्योगिक कच्चापदार्थ आयात हुने नाकाका रुपमा पनि चिनिन्छ,” पौडेलले भने, “भन्सारको मुख्य स्रोत भनेकै औद्योगिक कच्चापदार्थको राजस्व हो ।”
यस नाकाबाट मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगका कच्चापदार्थ आयात हुने गरेको छ । यो क्षेत्रमा ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । कच्चापदार्थ लिएर आएका मालबाहक सवारी जोगबनीमै रोखिएका थिए भने कच्चापदार्थ उद्योगमा पु-याएर ट्रक, ट्यांकर, लहरीलगायतका सवारी यतै रोकिएका थिए । “यी सवारीहरू उता गएर कच्चापदार्थ लोड गरेर आउन ढिला हुन्छ अब,” प्रवक्ता पौडेलले भने, “जसले गर्दा चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्यमा पूरै असर परेको छ ।” कार्यालयले चालु आर्थिक वर्ष ४२ अर्ब ५३ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो । प्रवक्ता पौडेलका अनुसार हालसम्म ३७ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । लक्ष्य पु-याउन कार्यालयले साढे ५ अर्ब संकलन गर्नुपर्छ । चालू आर्थिक वर्ष सकिन अब १९ दिन मात्रै बाँकी छ ।