विप्लव काफ्ले
बिहिवार, असार १२, २०७६
443

भरतपुर-इच्छाकामना गाउँपालिकाले बाँझो राख्दै आएका जग्गालाई खेतीयोग्य बनाउन चाहनेलाई ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । पाँचौं गाउँसभामा प्रमुख गीता गुरुङले सबै बाँझो जग्गाको तथ्यांक संकलन गरिने बताइन् । चितवनको यो गाउँपालिका थोरै समथर, धेरै डाँडाकाँडाले भरिएको छ ।
“तथ्यांक लिने काम हुन्छ, सामूहिक खेती गर्न खोज्नेलाई ५० प्रतिशत अनुदान दिन्छौँ,” उनले भनिन्, “सहज रुपमा खेती गर्ने वातावरण बनाउने छौं, कृषि औजार, प्रविधिमा पनि अनुदान दिन्छौं ।” सबै वडाको हावापानी, माटोको अध्ययन गरी कृषि पकेट क्षेत्र निर्धारण गरिने बताइन् । अर्गानिक र बेमौसमी तरकारी उत्पादनमा नमुना बनाइने बताइन् । एक गाउँ एक उत्पादन, रैथानेबालीमा विशेष अनुदान, मौरीपालन विस्तार, सिँचाइको व्यवस्था, जैविक मल वितरणलगायतका योजना कार्यान्वयन गरिने जनाइएको छ । इच्छाकामनामा कृषि र पशुपालननै स्थानीयको मुख्य पेसा हो ।
तरुल, पिडालु, सख्खरखण्ड, फापर, कोदो लगायतका पोषण खेती, फलफूल खेतीमा प्रोत्साहन गरिने नीति बनाएको छ । कृषितर्फ १ करोड ६ लाख, पशुपालनतर्फ ५५ लाख ८५ हजार, सिँचाईमा ८० लाख बराबरका योजना प्रस्ताव गरिएको छ । हरेक वडामा कम्तीमा १ सय किसानलाई अगुवा व्यावसायिक किसानका रूपमा छनोट गरी सहुलियत कर्जाका लागि सहजीकरण गर्ने र गाउँपालिकाले २ प्रतिशत ऋणको व्याजमा छुट दिने नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । 

सडक निर्माणमै बजेट
गाउँपालिकाले झन्डै ८० वटा सडक निर्माणका योजनालाई बजेट विनियोजन गर्ने तयारी गरेको छ । झन्डै १४ करोड ८१ लाख रुपैयाँ ग्राबेल, मोटरबाटो, नाला मर्मतमै खर्चिने योजना छ । “कम्तीमा ३ सय मीटर भएपनि पिच गर्नुपर्छ भन्नेमा हरेक वडावासीको माग छ”, उपप्रमुख कृतिकुमार श्रेष्ठले भने, “सकेसम्म ती माग पूरा गरिनेछ ।” उनले सबै वडालाई सडक सञ्जालले जोड्ने गरी बजेट विनियोजन गरिने बताए ।
आगामी वर्ष ‘घुमौँ इच्छाकामना’
गाउँपालिकाले आगामी वर्ष घुम्ने वर्षका रूपमा चिनाउने तयारी गरेको छ । ‘घुमौँ इच्छाकामना कार्यक्रम’ चलाइने भएको छ । प्रमुख गीता गुरुङले भनिन्, “पर्यटनको प्रचुर सम्भावना छ, भूगोलपनि रमणीय छ, आगामी वर्ष धेरै पर्यटक भिœयाउने लक्ष्य छ ।” गाउँसभामा पर्यटनका लागि १ करोड १२ लाख बराबरका योजना बनाउने तयारी छ । पर्यटन गाइड बुक, हरेक वडामा भ्यूटावर, होमस्टेलाई अनुदान, पर्यटन गुरुयोजना निर्माण लगयातका योजना समावेश गरिँदैछ । उपरदाङगढी, इच्छाकामना मन्दिर, सिराइचुली, त्रिशूली नदी, मनकामना मन्दिर मुख्य गन्तव्य हुन् ।
अन्य प्राथमिकतामा के–के परे ?
गाउँसभाको उद्घाटन मंगलबार नै भएको थियो । तर, नीति तथा कार्यक्रम र बजेट उद्घाटन सत्रमा सार्वजनिक गरिएन । मन्तव्य राख्ने काम मात्रै भए । गाउँसभाको बन्द्र सत्र चलिरहेको छ । स्रोतका अनुसार ५० करोड बराबरको बजेट निर्माण हुँदैछ । गाउँपालिका प्रमुख, उपप्रमुखले बजेट सीमाबारे यर्थात जानकारी दिन सकेनन् ।
तर, स्रोतका अनुसार गाउँपालिकाले ३१ करोड २० लाख बराबरका योजनालाई सभाबाट पारित गर्दैछ । कुरिनटारमा रहेको स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्प्ताल बनाउने भएको छ । १, २, ३, ४, ६, ७ मा वर्थिङ सेन्टर र ५ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना छ । बर्थिङ सेन्टरमा जन्मिएका वा इच्छाकामनामा जन्मेका बालिकालाई बाल बचतको व्यवस्थापन गरी खाता खोल्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सबै वडामा विद्युतीकरण, तामिनदेखि इच्छाकामना मन्दिर सडकलाई पूर्णता, एकीकृत बस्ती विकासको योजना कार्यान्वयन, सबै वडामा इन्टरनेट सेवा विस्तार, हरेक वडामा २५ जनाको विपद् व्यवस्थापन टोली खटाउने, खानेपानी व्यवस्थापनका लागि मुहानहरु खोजी डिपीआर बनाउने, १२ उत्तीर्ण गरेकालाई लोकसेवा कक्षा सञ्चालन, ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च, स्वास्थ्य जाँच गरिने उल्लेख छ । पूर्वाधारका योजनामा २५ प्रतिशत जनसहभागिता सुनिश्चित गर्ने, राजमार्ग क्षेत्रमा बनाइएका फोहर व्यवस्थापन घरलाई सञ्चालनमा ल्याउने, जग्गाको मूल्यांकन वृद्धि गर्ने, स्थानीय राष्ट्रिय गान बनाउने लगायतका योजना छन् ।