मनोरञ्जन शर्मा
बिहिवार, असार १२, २०७६
533

रुपन्देही-माछापालनमा आकर्षण बढ्दै जाँदा रुपन्देहीको दयानगर(छपिया)मा त्यहाँका माछापालक किसानको वार्षिक २५ करोड बराबरको माछा उत्पादन गर्दै आएका छन् ।
रुपन्देहीको दयानगर क्षेत्रबाट मात्रै वार्षिक १ हजार टन माछा बिक्री हुने गरेको छ । एक किलो माछाको औसत मूल्य २५० रुपैयाँ राख्दा पनि वार्षिक २५ करोड बराबरको माछाको कारोबार हुने गरेको जलदेवी मत्स्य विकास सहकारी संस्था दयानगरका अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

करिब ४ दशकदेखि दयानगर क्षेत्रमा माछा पालन सुरु भए तापनि अभियानका रूपमा माछा पाल्न सुरु गरेको १० वर्ष जति भएको छ ।
दयानगर क्षेत्रको १६७ हेक्टर क्षेत्रफलमा १ हजार २ सय पोखरीमा माछापालन हँुदै आएको छ । अहिले यँहा र वरपर माछापालन गर्ने किसानहरू बढी छन् ।
परम्परागत कृषि पेसा छाड्दै रुपन्देही दयानगरमा व्यावसायिक माछा पाल्ने किसानहरूको संख्या बढ्दै गएको हो । अन्य पेसाको तुलनामा बढी आम्दानी हुने भएकाले दयानगरका किसानहरूको आकर्षण माछापालन बढ्दै गएको हो । त्यहाँका माछापालक किसानहरूले माछा पालनलाई दैनिक गुजाराका रूपमा मात्रै नहेरी नगदेबालीको प्रमुख स्रोतका रूपमा लिन थालेका छन् ।
रुपन्देही जिल्लामा माछापालनका लागि पकेट क्षेत्र मानिएको दयानगर छपिया क्षेत्र र वरपरमा अहिले व्यावसायिक माछापालन गर्ने किसानहरूको संख्या ३ हजारभन्दा बढी रहेको जलदेवी मत्स्य विकास सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार दयानगर क्षेत्रमा विभिन्न १७ वटा कृषक समूह माछापालनमा संलग्न छन् । १७ कृषक समूहमा ५ सय ६० घरधुरीका ३ हजार ३ सय ६० जना महिला र पुरुष माछापालन व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएका छन्, र यसमा आकर्षण बढ्दो, अध्यक्ष बस्नेतले भने ।
माछापालनसँगै यहाँका किसानहरूको पनि आयस्तर बढ्दै गएको छ । यहाँ माछापोखरी नभएका घरहरू बिरलै देख्न पाइन्छ । प्रायः सबै मत्स्यपालनमा संलग्न छन र सबैका घरमा माछापोखरी । माछापालन व्यवसायका रूपमा बढ्दै जाँदा आम्दानी पनि राम्रो हुन थालेको किसानहरू बताउँछन् । अहिले कुनै घरले मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । ठूलो क्षेत्रफल रहेको माछापोखरीबाट सिजनमा दैनिक १० क्विन्टलसम्म माछा निकाल्ने गरिन्छ ।
माछापालनमा आकर्षण बढेसँगै अन्य आर्थिक गतिविधिसमेत फस्टाउन थालेको छ । माछापालनमा प्रयोग हुने माछाको दाना उद्योगसमेत दयानगरमा खुलेको छ भने माछालाई पर्यटनसँग जोड्दै मत्स्य पर्यटन व्यवसाय पनि सुरु भएको छ । माछाको अध्ययन गर्न, माछापोखरी अवलोकन गर्न र माछाका विभिन्न परिकारको स्वाद लिन अहिले आन्तरिक पर्यटकहरू दयानगर जाने क्रमसमेत बढेको छ ।
यसले गर्दा त्यहाँ मत्स्य कृषिसँगै पर्यटन पनि जोडिन पुगेको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जनाए । अहिले दयानगरको घर–घरमा माछापालन हुन थालेपछि मत्स्य पर्यटन केन्द्रका रूपमा विकास गरी लैजान अभियान सुरु भएको र गाउँपालिकाको बजेटमा कृषि र पर्यटनलाई जोड्दै समृद्ध सियारीको नारा तय गरिएको थारुले उल्लेख गरे ।
मत्स्य पर्यटनमा त्यहाँ आउने पर्यटकलाई माछा पोखरीमा घुमाउने, माछा पोखरीमा बोटिङ, बल्छी प्रयोग गरी माछा मार्ने सुविधा, माछाका बिभिन्न परिकारहरू ख्वाउने, माछा खरिद गरी घर लैजाने व्यवस्था र त्यहाँ बास बस्नका लागि होमस्टे पनि व्यवस्था छ ।
दयानगर क्षेत्रका मत्स्य कृषकहरूले पालेको माछाको खपत बढिनै छ । माछा बिक्री भएन भन्नुपर्दैन । सियारीको दयानगर र शुद्धोधन गाउँपालिकाक किसानहरूले पालेको माछा खरिदका लागि व्यवसायीहरू पोखरीमै किनबेचका लागि आउने गर्छन्, माछा लिएर बजारमा ग्राहक कुर्न जानुपर्ने अवस्था छैन, अगुवा माछापालक किसान तथा मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पुण्यप्रसाद चौधरी बताउँछन् । चौधरीका अनुसार धेरैको आर्थिक अवस्थानै मत्स्यपालनका कारण परिवर्तन भएको छ । दयानगर क्षेत्रका किसानले रहु, नैनी, सिलभर कार्प, कमन कार्प, बिगहेड कार्प, ग्रास कार्पलगायत विभिन्न प्रजातिका माछा पालन गरेका छन् । एउटै माछा पोखरी ३ बिगाहासम्मका छन् । अब परम्परागत पोखरीको सट्टा प्लास्टिक पोखरी बनाउने क्रम पनि बढेको छ ।