घनश्याम पौडेल
बिहिवार, असार १२, २०७६
365

अर्घाखाँचीका ४ स्थानीय तहको बजेट

अर्घाखाँचीका ६ मध्ये ४ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । भूमिकास्थान नगरपालिकाले असार ९ गते नै बजेट ल्याएको छ । भूमिकास्थानले गत वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि ५६ करोड ३४ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख खडानन्द बेल्वासेले नगरसभामा पेश गरेको बजेटमा आयतर्फ संघीय सरकार ससर्त अनुदानको १९ करोड ६४ लाख, वित्तीय समानीकरणको ११ करोड ५४ लाख, केन्द्रीय सरकार राजस्व बाँडफाँडतर्फ ९ करोड ४० लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ४३ लाख ३९ हजार, प्रदेश सरकार ससर्त अनुदानतर्फको १ करोड १० लाख र प्रदेश सरकार राजस्व बाँडफाँडतर्फ ७९ लाख १३ हजार बजेट उल्लेख छ ।

त्यसैगरी आन्तरिक स्रोत ४० लाख, आव २०७५-७६ मा खर्च नभई बाँकी नगद मौज्दात ५० लाख, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम १२ करोड, गरिबसँग विश्वेश्वर कार्यक्रमको ९ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको ५ लाख, सडक बोर्डतर्फको ४० लाख गरी जम्मा ५६ करोड ३४ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।
यसैगरी व्ययतर्फको संशोधित कूल ५६ करोड ३४ लाख, ५२ हजार मध्ये संघीय सरकार ससर्त अनुदानतर्फको व्यय अनुमान १९ करोड, ६४ लाख, प्रदेश सरकार ससर्त अनुदान १ करोड १० लाख, प्रशासनिक खर्च चालू ६ करोड ३३ लाख २० हजार, प्रशासनिक खर्च पुँजीगततर्फको ६५ लाख, कृषि शाखाको कार्यक्रम ४५ लाख, पशुसेवा शाखाको कार्यक्रम ४५ लाख प्रस्ताव गरिएको छ । त्यस्तै नगर योजना तथा कार्यक्रमको १० करोड ४२ लाख ८२ हजार, वडा योजना तथा कार्यक्रमको ४ करोड ७५ लाख ५० हजार, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम १२ करोड विनियोजन गरिएको छ ।
त्यस्तै छत्रदेव गाउँपालिकाले ४९ करोड ८० लाख १७ हजार ८ सय २६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष तुलसादेवी श्रेष्ठले विनियोजन गरेको बजेटमा खानेपानी, कृषि, स्वास्थ्य, पशु र शिक्षालाई प्राथमिकता दिइएको छ ।
मालारानी गाउँपालिकाले पनि ५४ करोड ४३ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ । शिक्षातर्फ शिक्षण सिकाईलाई व्यवस्थित बनाउन शिक्षक दरबन्दी कम भएका विद्यालयमा शिक्षण सहयोग अनुदान कार्यक्रम, पालिकाका ३ स्थानमा कोल्ड स्टोर स्थापना, पालिकाभित्र मासुजन्य तथा दुग्धजन्य व्यवसाय सञ्चालन गर्ने, सहकारी, समूह र निजी फर्मलाई स्थापना गर्न प्रोत्साहन स्वरूप अनुदान उपलब्ध गराउने, बाख्रा र भेडा स्रोत केन्द्रको स्थापना गर्नेलगायतका विषयलाई बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी सन्धिखर्क नगरपालिकाले ६५ करोड १९ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख ठाकुर कुमार विकले सार्वजनिक गरेको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिइएको छ । पशुपालन, शिक्षा, स्वास्थ्य, यातायातलाई पनि प्राथमिकता दिइएको छ । पाणिनी गाउँपालिका र शितगंगा नगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।