कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
389

मुद्रण र यससँग सम्बन्धित क्षेत्रका ६ संघ-संस्थाले आगामी आर्थिक वर्ष २०७६-७७ मा नेपालभित्र आयात गरिने पुस्तकमा लगाइएको १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्रीय उद्योग संघ, कागज व्यवसायी संघ तथा नेपाल पल्प एन्ड पेपर उत्पादक संघले सरकारले ल्याएको व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् । नेपालका पुस्तकमा भन्सार महशुल र भ्याट गरी सरकारले २८ प्रतिशत लगाए पनि विदेशमा मुद्रण भएर आउने पुस्तकमा शून्य महशुल लगाएको भन्दै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न निर्यातमा महशुल लगाउन व्यवस्थायीहरूले माग गर्दै आएका थिए । निर्यात पुस्तकमा महशुल लगाएपछि सरकारले युनेस्कोसँग ज्ञान बढाउने वस्तुमा महशुल लगाउन नपाउने भनी गरेको व्यवस्था विपरित सरकारले महशुल लगाएको भन्दै यसको विरोध हुँदै आएको छ ।
मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतमले विदेशीबाट आउने पुस्तक महंगो भएको तथा ज्ञानको विषय जोडेर निर्यात महशुलनै नलिने गर्दा स्वदेशी उद्योग धराशायी भएको बताउँदै नेपाली व्यवसायीको तुलनामा निर्यात महशुल १० प्रतिशत कम भए पनि सरकारले यसको कार्यान्वयन गर्नुपर्ने बताए । मुद्रण संघका अध्यक्ष शंकर खड्काले वौद्धिक वस्तु भनेर सामग्रीमा महशुल नलगाउनु गलत भएको भन्दै स्वदेशी उद्योगको प्रोत्साहनका लागि निर्यात महशुल लगाउनु स्वागतयोग्य कुरा भएको बताए ।