कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
1214

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बेच्नेको भीड लागेको छ । शुक्रबार सुनको मुल्य बढेर प्रतितोला ६५ हजार पुगेपछि बजारमा नयाँ गहना किन्ने भन्दा पनि बेच्ने ग्राहकको भीड लागेको हो । अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ ।
गत बुधबारदेखि लगातार सुनको मूल्य उकालो लाग्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको हो ।

बुधबारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले शुक्रबारको मूल्य अहिलेसम्मकै बढी भएको बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो । बिहीबार सुनको मूल्य २५ डलर बढेर प्रतिऔन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको छ । अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । सुनको मूल्य अझ बढ्ने विज्ञहरूले अनुमान गरेका थिए ।
अमेरिका र इरानबीच चलिरहेको आणविक विवादले समेत सुनको सञ्चय गर्न थालेकाले मूल्य बढेको हो । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । महासंघका अनुसार अनुसार दैनिक २० किलो सुन बिक्री हुने गरेकोमा अहिले घटेको छ । मूल्य बढेपछि किन्ने होइन बिक्री गर्न आउने बढेको व्यवसायीको भनाइ छ । बजारमा सुनको कारोबार नै ठप्प जस्तो भएको छ । सधैं जसो भीडभाड हुने न्यूरोडका सुन पसलमा यतिबेला सुनसान जस्तै छन् ।
यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।