Logo

नेपालगन्ज र रुपैडिहामा भारुको अवैध कारोबार

केही समययता बाँके सदरमुकाम नेपालगन्जलगायतका सीमावर्ती क्षेत्रमा भारतीय मुद्राको अत्यधिक अभाव भएपछि अवैध कारोबार पनि बढेको हो ।

भारतीय रुपैयाँ हालसम्मकै महँगोमा खरिद बिक्री
नेपालगन्ज-पछिल्लो समयमा भारतीय रुपैयाँको अभाव भएसँगै अवैध खरिद बिक्री पनि अत्यधिक बढेको छ । अहिले नेपालगन्जका विभिन्न पसल, मनी एक्सचेन्ज काउन्टर र व्यक्तिले पनि भारुको अवैध खरिद बिक्री खुला रूपमा गरिरहेका छन् भने सीमापारी रुपैडिहामा पनि सयौंले भारुको सस्तोमा खरिद र महँगोमा बिक्री गरिरहेका छन् ।
नेपालगन्ज र रुपैडिहामा महँगो शुल्क तिरेपछि भारतीय रुपैयाँ सहज रूपमा पाउन थालिएको छ । केही समययता बाँके सदरमुकाम नेपालगन्जलगायतका सीमावर्ती क्षेत्रमा भारतीय मुद्राको अत्यधिक अभाव भएपछि अवैध कारोबार पनि बढेको हो ।
वैध तरिकाले भारु नपाउँदा अवैध कारोबार भइरहेको स्थानीय व्यवसायी दिपक खरेलले बताए । उनका अनुसार नेपालगन्जका हरेक जसो पसलमा महँगो मूल्यमा भारु खरिद बिक्री भइरहेको छ । औषधि पसलदेखि पान पसलसम्ममा भारुको खरिद बिक्री हुने गरेको छ ।
सहज रूपमा भारतीय मुद्रा नपाउँदा काम विशेषले वा बिरामी लिएर भारतको लखनउ र दिल्ली जानेलाई सबैभन्दा बढी सास्ती भएको छ । भारतीय रुपैयाँको अभाव बढ्दै गएपछि हाल आएर अहिलेसम्मकै महँगो दरमा भारतीय रुपैयाँको खरिद बिक्री भइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार वैध तरिकाले नपाएपछि अवैधरुपमा पाइने भारतीय रुपैयाँ महँगिने क्रम बढ्दै गएको छ । हाल नेपालगन्जमा भारु प्रतिसय रुपैयाँ साट्न सर्वसाधारणले ६ देखि १० रुपैयाँसम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नुपरेको छ ।
भारतीय मुद्राको माग र अभाव दुवै बढ्दै गएपछि हाल आएर निकै चर्को शुल्क तिरेर मात्र बजारमा पाइने गरेको र भारुको कारोबार गर्नेहरूले संगठित भएर काम गर्न थालेपछि मूल्य चर्किएको वैश्यको भनाइ छ ।
केही समयअघिसम्म प्रतिसय भारु १ सय ६४ देखि १ सय ६५ सम्म पाइने गरेकोमा हाल आएर प्रतिसय भारुको १ सय ७० रुपैयाँसम्म तिर्नु परेको सर्वसाधारणको भनाइ छ ।
साढे दुई दशकदेखि नेपाल राष्ट्र बैंकले सय भारु बराबर १ सय ६० हुने गरी स्थिर विनिमयदर कायम गरेको छ । सटही काउन्टरले राष्ट्र बैंकले निर्धारण गरेको प्रति १ हजारमा ४० पैसा मात्रै वट्टा लिन पाउने प्रावधान छ । तर, बाँकेको नेपालगन्ज र सीमापारी रुपैडिहामा सय भारु लिँदा हाल आएर १ सय ७० रुपैयाँसम्म तिर्नु पर्ने बाध्यता छ । सटही काउन्टरले पनि सोही मूल्यमा भारु उपलब्ध गराई रहेका छन् ।
नेपालगन्जमा दैनिक १ देखि २ करोडसम्म भारु राष्ट्र बैंकबाट खरिद बिक्री हुने गरेको छ भने सीमापारीको रुपैडिहा बजारका लागि करिब ३ करोड भारुको आवश्यकता पर्ने गरेको छ ।
सीमापारी रुपैडिहामा दैनिक ३ देखि ५ करोड नेपाली रुपैयाँको कारोबार भइरहेकाले सो रुपैयाँ साट्नका लागि भारु चाहिने हुँदा माग र अभाव दुवै बढेको हो ।
सामान्यतया नेपालबाट निर्यात भएर जाने वस्तुको बिक्रीबाट वैधानिक रूपमा भारतीय रुपैयाँ नेपाल भित्रने गरेको व्यवसायी बताउँछन् । त्यसका अलावा भारतबाट काम गरेर फर्कने सेना, मजदुर र जागिरेबाट पनि भारु भित्रने गरेको छ ।
बाँकेमा हाल आएर दैनिक करिब ४ करोड भारु खपत हुने गरेको राष्ट्र बैंकको भनाइ छ । भारुको अवैध कारोबार गर्नेले नै राष्ट्र बैंकबाट सर्वसाधारणका लागि वितरण हुने रकम र बजारबाट सबै भारु आफ्नो कब्जामा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्