दीननाथ बराल
शुक्रवार, श्रावण ४, २०७५
1232

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा असाधारण सम्भावना रहेको बताउँदै यस प्रदेशलाई फिल्म सिटी बनाउने उद्घोष गरेका छन् । गण्डकी प्रदेश सभामा बिहीबार विशेष सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, पर्यटकीयलगायतका दृष्टिले धेरै सम्भावना भएको बताए ।
दुई वर्षमै आधा मुम्बई गण्डकी प्रदेशमा आउने दाबी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न फिल्महरूको छायाङ्कन र पर्यटकहरूको यस प्रदेशमा भिड लाग्ने दाबी गरे । गण्डकी प्रदेशमा शिक्षा, स्वास्थ्यको केन्द्र र पर्यटनको हब बनाउनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले अझै पनि नेपालबाटै उच्च शिक्षाको लागि ५० लाख खर्च गरेर वार्षिक ४ सय जना विदेशिने गरेको बताए ।

उच्च शिक्षाको लागि २ अर्बबराबरको रकम विदेशिएको बताउँदै उनले यसलाई यही रोक्दै विदेशबाट समेत अध्ययनको लागि विदेशीहरूलाई नेपालमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । विकासको निम्ति सुशासन आवश्यक भएको बताउँदै उनले प्रदेश सरकारले जनतालाई महशुस हुने गरी सामाजिक जागरणसहितको परिवर्तको आभास दिन निर्देशन दिए । उत्पादनमा वृद्धि गरी रोजगारको सृृजना गरी प्रतिव्यक्ति आयमा वृद्धि गरी आर्थिक विकास र समृद्धि हासिल हुने उनको भनाइ थियो ।
नेपालको पूर्व–पश्चिममा रेल र पानीजहाज चलाउने कुरामा केहीले मजाक गरे पनि यसलाई आफूहरूले सार्थक पारी छाड्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नदीबाट समुद्रसम्म, रक्सौलबाट काठमाडौंसम्मको रेल मार्गको लागि अध्ययन जारी रहेको उनले जनाए । उनले भने, “नेपालमा चल्ने रेलले आउँदा विदेशबाट सामान ल्याउँछ, फर्किंदा के लैजान्छ भनेर धेरैले चिन्ता गर्नु भएको छ । हामीसँगै जडिबुटीयुक्त विश्वमै नभएको पिउने पानी उत्पादन गरी हामीले विदेशमा पानी पठाउनु पर्छ ।”
भारत र चीन दुई देशबीचको सम्बन्ध सुमधुर राख्दै स्वदेशमा उत्पादन भएका वस्तुको बिक्री गर्ने राम्रो बजार नेपालीमाझ भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कृषि आधुनिकीकरण र व्यावसायिक रुपमा तथा थोरै लगानीमा धेरै प्रतिफल पाउनेतर्फ लाग्न कृषकलाई आग्रह गरे ।
पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली सिनेट बैठकको अध्यक्षता गर्न आएको अवसरमा प्रदेश सभामा सम्बोधन गरेका हुन् । बिहीबार बिहान पोखरा अवतरण गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरे । रन वेसहितको भाग अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा विमानस्थल निर्माणको काम आफूले सोचेअनुरुप भएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणको काम हालसम्म करिब १५ प्रतिशत पूरा भएको दाबी गरे । पोखरा विमानस्थलको हाल कुनै समस्या नरहेकोले तोकेको मितिभन्दा केही समयअघि नै विमानस्थल निर्माण हुने विश्वास उनले व्यक्त गरे ।
यसैबीच, प्रधानमन्त्री ओलीलाई कालो झण्डा प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका समर्थित विद्यार्थीहरू पक्राउ परेका छन् । प्रदेश सभाको मुख्य गेट अगाडि र अम्मरसिंह चोकमा कालो झण्डा प्रदर्शन गर्ने २३ विद्यार्थीहरूलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । बिहीबार साँझ नै उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।


सातामा धेरै पढिएको